सत्य, निष्पक्ष र विश्वसनीय

गरिमा चौधरी हत्या प्रकरण: सिमराका डीएसपी र प्रहरी निरीक्षक जिम्मेवारीबाट हटाइए

न्युज डेस्क
२०८३ भाद्र ५, शुक्रबार ०६:२६

गरिमा चौधरी हत्या प्रकरणमा इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दिलीप क्षेत्री र प्रहरी निरीक्षक प्रकाश थापा जिम्मेवारीबाट हटाइएका छन्। डीएसपी क्षेत्रीको स्थानमा दयाकृष्ण भट्टलाई सिमराको प्रहरी प्रमुखका रूपमा पठाइएको छ।

जीतपुरसिमरा, ५ भदौ
तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दिलीप क्षेत्री र प्रहरी निरीक्षक प्रकाश थापालाई जिम्मेवारीबाट हटाइएको छ।
घटनाको अनुसन्धान तथा प्रहरी परिचालनमा कमजोरी भएको भन्दै प्रहरी नेतृत्वले दुवै अधिकारीलाई सिमराबाट हटाएको हो। घटनालाई गम्भीर रूपमा लिँदै सिमराको प्रहरी कमान्ड परिवर्तन गरिएको प्रहरीले जनाएको छ।
डीएसपी क्षेत्रीको स्थानमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत डीएसपी दयाकृष्ण भट्टलाई इलाका प्रहरी कार्यालय सिमराको प्रमुखका रूपमा पठाइएको छ। प्रहरी निरीक्षकको स्थानमा भने कसलाई पठाउने भन्नेबारे निर्णय हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
तीन वर्षीया बालिकाको हत्या घटनाको प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरीमाथि दबाब बढिरहेका बेला दुई प्रहरी अधिकारीलाई जिम्मेवारीबाट हटाइएको हो।
घटनामा प्रहरीको अनुसन्धान र परिचालनमा भएको भनिएको कमजोरीबारे समेत आवश्यक छानबिन तथा मूल्यांकन हुने जनाइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?