सत्य, निष्पक्ष र विश्वसनीय

गरिमा हत्या प्रकरण : चौथो दिन पनि वीरगञ्ज–पथलैया सडक ठप्प

न्युज डेस्क
२०८३ भाद्र ६, शनिबार १६:४५

गरिमा चौधरीको न्यायको माग गर्दै सिमरामा स्थानीयको सडक धर्ना चौथो दिन पनि जारी। प्रशासनसँग सहमति भए पनि परिवारले अस्वीकार गरेपछि वीरगञ्ज–पथलैया सडकखण्ड ठप्प।

सिमरा, ६ भदौ
तीन वर्षीया बालिका गरिमा चौधरीको न्यायको माग गर्दै स्थानीयले वीरगञ्ज–पथलैया सडकखण्डको सिमरामा जारी राखेको आन्दोलन शनिबार चौथो दिन पनि रोकिएको छैन।

स्थानीयले सडकमा टेन्ट टाँगेर धर्ना तथा प्रदर्शन गरिरहेका छन्।
बिहीबार राति स्थानीय प्रशासन, राजनीतिक दलका प्रतिनिधि तथा जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिको रोहबरमा पाँचबुँदे सहमति भएको थियो। तर मृतक बालिकाका परिवारले उक्त सहमति आफूहरूको स्वीकृतिबिना भएको भन्दै अमान्य घोषणा गरेपछि आन्दोलन निरन्तर जारी छ।


घटनापछि इलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुखको लापरबाही भएको आरोप लगाउँदै स्थानीयले उनको सरुवाको माग गरेका थिए। डीएसपी दिलिप क्षेत्रीको सरुवा भएपछि प्रशासनसँग पाँचबुँदे सहमति भएको बताइएको छ।


तर मध्यरातमा भएको सहमतिमा आफूहरूको सहमति नरहेको परिवारको भनाइ छ। परिवारले न्यायको माग गर्दै आन्दोलन जारी राखेको छ।


यसैबीच, जीतपुरसिमरा उपमहानगरपालिका लगायत बाराका विभिन्न क्षेत्रबाट स्थानीयहरू आन्दोलनमा समर्थन जनाउन सिमरा पुगेका छन्। बालिकाको शव हाल कलैया अस्पतालमै रहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?