सत्य, निष्पक्ष र विश्वसनीय

हरियाली सावन मिलन समारोहमा ग्रामीण महिलाको उत्साहपूर्ण सहभागिता

न्युज डेस्क
२०८३ भाद्र ६, शनिबार २०:१७

बिरगंज, ६ भदौ
काली सेनाको आयोजनामा हरैया पोखरास्थित सातो माई मन्दिर परिसरमा शुक्रबार बिहान हरियाली सावन मिलन समारोह सम्पन्न भएको छ।काली सेनाकी राष्ट्रिय अध्यक्ष पार्वती तिवारीको नेतृत्वमा आयोजित कार्यक्रममा ठूलो संख्यामा ग्रामीण महिलाको उत्साहपूर्ण सहभागिता रहेको थियो।

ग्रामीण महिलालाई मनोरञ्जनसँगै विभिन्न सिर्जनात्मक तथा बौद्धिक गतिविधिमा सहभागी गराई उनीहरूको आत्मविश्वास, सक्रियता र मानसिक विकासमा प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

समारोहमा महिलाका लागि म्युजिकल चेयर, बेलुन बैंगल्स, मेहन्दी तथा प्रश्नोत्तर गरी चारवटा प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा सहभागी महिलाले उत्साहपूर्वक सहभागिता जनाएका थिए।

मेहन्दी प्रतियोगितामा पूर्णिमा देवी प्रथम, रामकली देवी द्वितीय र तोता देवी तृतीय भए। त्यस्तै, म्युजिकल चेयरमा कुन्ती देवी प्रथम, भवानी देवी द्वितीय र नीलु देवी तृतीय स्थान हासिल गरे।
बेलुन बैंगल्स प्रतियोगितामा रिंकु देवी प्रथम, पुनीता देवी द्वितीय र आशमा खातुन तृतीय भए भने प्रश्नोत्तर प्रतियोगितामा रुखसाना खातुन प्रथम, ललसा देवी द्वितीय र अफसाना खातुन तृतीय स्थानमा रहे।

कार्यक्रमको अन्त्यमा विजेता सहभागीलाई पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो। समारोहमा सहभागी सबै महिलाका लागि जलपानको समेत व्यवस्था गरिएको थियो।

काली सेनाकी राष्ट्रिय अध्यक्ष पार्वती तिवारीले महिलालाई सामाजिक रूपमा संगठित गर्नुका साथै उनीहरूलाई आत्मविश्वासी, जागरूक, सक्रिय तथा बौद्धिक रूपमा सशक्त बनाउनु संस्थाको उद्देश्य रहेको बताइन्। यस्ता कार्यक्रमले ग्रामीण महिलालाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने र सामाजिक गतिविधिमा सक्रिय रूपमा सहभागी हुने अवसर प्रदान गर्ने उनको भनाइ थियो।

कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२२ई, जोन ४१ का जोन चेयरपर्सन तथा डिस्ट्रिक्ट चेयरपर्सन, भारत विकास परिषद्का सेवा संयोजक तथा मिडिया प्रभारी एवं सामाजिक अभियन्ता बिमल सर्राफले ग्रामीण महिलालाई जागरूक र सक्रिय बनाउने अभियानको प्रशंसा गरे। उनले महिलाको सामाजिक सहभागिता र आत्मनिर्भरतातर्फको प्रयास सकारात्मक रहेको बताए।

त्यस्तै, भारत विकास परिषद् रक्सौलका अध्यक्ष रजनीश प्रियदर्शीले महिलालाई आत्मनिर्भर बनाउने प्रयाससँगै आफ्नो संस्कृति र परम्पराबारे जान्ने तथा त्यसलाई संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम प्रशंसनीय रहेको बताए।

ग्रामीण महिलाको उल्लेखनीय र उत्साहपूर्ण सहभागिताले हरियाली सावन मिलन समारोहलाई मनोरञ्जनात्मकसँगै सामाजिक जागरण र महिला सशक्तीकरणको सन्देश दिने सफल कार्यक्रमका रूपमा सम्पन्न गरेको आयोजकले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?