सत्य, निष्पक्ष र विश्वसनीय

बाढीपछि ११४ जनाको हवाई उद्धार, ४६ घाइते उपचाररत

न्युज डेस्क
२०८३ भाद्र १०, बुधबार १८:४८

काठमाडौं, १० भदौ
रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत ११४ जनाको हवाई उद्धार गरिएको छ।
उद्धार गरिएकामध्ये २५ जना घाइतेको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने थप २१ जना रसुवा अस्पतालमा उपचाररत छन्।
नेपाल प्रहरीका अनुसार नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जनाको उद्धार गरेको छ। सेनाले टिमुरेबाट धुन्चेमा ६० जना, टिमुरेबाट त्रिशूलीमा १३ जना, मैलुङबाट पाँच जना, बेत्रावतीबाट चार जना तथा त्रिशूलीबाट काठमाडौंमा तीन जनालाई उद्धार गरेको हो।
त्यस्तै, निजी क्षेत्रका हेलिकप्टर कम्पनीहरूले प्रभावित क्षेत्रबाट घाइते तथा बाढीमा फसेकालाई उद्धार गरी काठमाडौंका अस्पतालसम्म ल्याएका छन्। कैलाश हेलिकप्टरले पाँच, अन्नपूर्ण हेलिकप्टरले चार, फिसटेलले पाँच, एभरेष्टले दुई र प्रभु हेलिकप्टरले विभिन्न उडानमार्फत आठ जनाको उद्धार गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?