सत्य, निष्पक्ष र विश्वसनीय

रसुवाको बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र, प्रधानमन्त्री शाहद्वारा उच्च सतर्कता अपनाउन आग्रह

न्युज डेस्क
२०८३ भाद्र १०, बुधबार २०:२१

काठमाडौं, १० भदौ
रसुवामा आएको बाढीपछि उद्धार तथा राहत कार्यलाई तीव्र बनाइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत नेपाली सेना, सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल प्रहरीलाई उद्धार तथा राहत कार्यमा परिचालन गरिएको जानकारी दिएका छन्।
प्रधानमन्त्री शाहका अनुसार प्रभावित क्षेत्रमा आवश्यक जनशक्ति पठाउने काम भइरहेको छ। अन्य जिल्लाबाट समेत थप सुरक्षाकर्मी प्रभावित क्षेत्रतर्फ परिचालन भइसकेका छन्।
विपद् व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाउँदै मेडिकल टिम, नेपाल स्काउट र रेडक्रसलगायतका निकायसँग समन्वय गरी आवश्यक कदम अघि बढाइएको उनले बताएका छन्। प्रभावित क्षेत्रमा थप एम्बुलेन्स तथा स्वास्थ्यकर्मी पठाउने प्रक्रिया पनि अघि बढाइएको छ।
बाढीको जोखिममा रहेका तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई निर्देशन दिइएको प्रधानमन्त्री शाहले बताएका छन्। स्थानीय बासिन्दालाई एसएमएस तथा फोनमार्फत सूचना दिँदै सुरक्षित स्थानमा जान सचेत गराइएको जनाइएको छ।
सम्भावित उद्धार तथा राहतका लागि हेलिकप्टरहरू प्रभावित क्षेत्रतर्फ पठाइएको र निजी हेलिकप्टर कम्पनीहरूलाई समेत तयारी अवस्थामा राख्न भनिएको शाहले जानकारी दिएका छन्। केही निजी हेलिकप्टरसमेत प्रभावित क्षेत्रतर्फ परिचालन भइसकेका छन्।
आगामी आवश्यक कदमबारे निर्णय गर्न उच्चस्तरीय बैठकसमेत बोलाइएको प्रधानमन्त्री शाहले बताएका छन्।
प्रधानमन्त्री शाहले सबैलाई सुरक्षित स्थानमा बस्न आग्रह गर्दै आफन्तसँग सम्पर्क हुन नसकेमा सम्बन्धित सरकारी निकायबाट आउने उद्धार तथा राहतसम्बन्धी सूचनाको प्रतीक्षा गर्न अनुरोध गरेका छन्। थप जानकारी तथा राहतसम्बन्धी सूचनाका लागि १२३४, १०० र ११११ नम्बरमा सम्पर्क गर्न सकिने उनले बताएका छन्।
प्रधानमन्त्री शाहको आग्रह: जोखिमयुक्त तथा तल्लो तटीय क्षेत्रमा रहेका नागरिकले सुरक्षा निकाय तथा स्थानीय प्रशासनले दिएको निर्देशन पालना गर्दै तत्काल सुरक्षित स्थानमा जानुपर्नेमा जोड दिइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?