दुई महिनामै रसुवाका सीडीओ परियारको सरुवा, कमलप्रसाद पाण्डे नयाँ सीडीओ
काठमाडौँ, २२ भदौ
गृह मन्त्रालयले बाढीग्रस्त रसुवाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नरेन्द्र परियारलाई जिम्मेवारी सम्हालेको दुई महिनामै मन्त्रालयमा तानेको छ।
भोटेकोशी बाढीपछि विपद् व्यवस्थापन, खोज तथा उद्धारमा अपेक्षित प्रभावकारिता देखाउन नसकेको भन्दै परियारलाई मन्त्रालय तानिएको गृह मन्त्रालय स्रोतले जनाएको छ। पछिल्लो समय रसुवामा बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका काम जारी छन्।
परियारको स्थानमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक कमलप्रसाद पाण्डेलाई रसुवाको नयाँ प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।
पाण्डेले बाढी प्रभावित जिल्लामा जारी उद्धार, राहत तथा पुनःस्थापनासँगै सुरक्षा समन्वय र अवरुद्ध सार्वजनिक सेवा व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछन्।
परियार आइतबारसम्म रसुवामै रहने र सोमबार गृह मन्त्रालयमा रमाना लिने तयारीमा रहेको बताइएको छ। यस्तै, पाण्डे पनि सोमबारसम्म रसुवा पुगेर कार्यभार सम्हाल्ने तयारीमा छन्।
यसअघि भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवासहित नुवाकोट, धादिङ र गोरखाका नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो। बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार र राहतका काम तीव्र रूपमा अघि बढिरहेका छन्।
बाढीपछिको संवेदनशील अवस्थामा जिल्लाको प्रशासनिक नेतृत्व परिवर्तन भएपछि नयाँ सीडीओ पाण्डामाथि उद्धार, राहत, पुनःस्थापना तथा सुरक्षा व्यवस्थापनलाई प्रभावकारी रूपमा अघि बढाउने चुनौती थपिएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





