आज हरितालिका तीज मनाइँदै, पशुपतिनाथसहित शिवालयमा भक्तजनको घुइँचो
काठमाडौँ, २९ भदौ
आज हरितालिका तीज पर्व मनाइँदैछ। भदौ शुक्ल तृतीयाका दिन व्रत बसी भगवान् शिवको पूजा तथा उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ।
हिजो दर खाएसँगै औपचारिक रूपमा सुरु भएको तीज पर्व भोलि ऋषि पञ्चमी मनाएसँगै समापन हुनेछ। तीजको अवसरमा पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
यद्यपि, विगतका वर्षहरूमा जस्तो यस वर्ष तीजको उत्साह र उल्लास देखिएको छैन। हालैको भोटेकोशी बाढी तथा विपद्बाट भएको जनधनको क्षतिको प्रभाव तीज पर्वमा समेत परेको छ। सरकारले तीज मनाउन महिलालाई आज सार्वजनिक बिदा दिएको छ।
तीजका दिन महिलाहरूले निराहार व्रत बस्ने परम्परा रहे पनि स्वास्थ्य अवस्थालाई ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन्। स्वास्थ्यले धान्न सक्ने व्यक्तिले मात्र निराहार व्रत बस्न र नसक्नेले पर्याप्त पानी, फलफूल तथा जुस सेवन गरेर व्रत बस्न चिकित्सकहरूको सुझाव छ।
लामो समयसम्म निराहार बस्दा शरीरमा पानी तथा ग्लुकोजको कमी भई कमजोरी, चक्कर लाग्ने तथा बेहोस हुने जोखिम हुन सक्छ। त्यसैले आफ्नो स्वास्थ्य अवस्था र क्षमता हेरेर व्रत बस्न चिकित्सकहरूले आग्रह गरेका छन्।
धार्मिक मान्यताअनुसार पनि निराहार व्रत बस्न नसक्नेले जलाहार वा फलाहार गरेर व्रत बस्न सकिने उल्लेख छ। स्वास्थ्य अवस्था कमजोर भएका व्यक्तिले गहुँ वा मकैको रोटी तथा स्याउ, सुन्तला, केराजस्ता फलफूल सेवन गरेर पनि व्रत बस्न सकिने धार्मिक मान्यता छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





