सत्य, निष्पक्ष र विश्वसनीय

सिरहा घटनाबारे शिक्षामन्त्री पोखरेलको स्पष्टीकरण : ‘छोटो भिडियोका आधारमा धारणा बनाउनु उचित हुँदैन’

न्युज डेस्क
२०८३ भाद्र २७, शनिबार २०:२६

काठमाडौं, २७ भदौ
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सिरहाको औरही गाउँपालिकामा आयोजित कार्यक्रममा भएको घटनाबारे स्पष्टीकरण दिएका छन्। आफ्नै पार्टीका स्थानीय नेता–कार्यकर्ताले विरोध गरेपछि बोल्दाबोल्दै कार्यक्रमस्थलबाट बाहिरिनुपरेको घटनाबारे उनले पूरा सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा धारणा बनाउन नहुने बताएका छन्।
मन्त्री पोखरेलका अनुसार राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि मधेश प्रदेशका विभिन्न जिल्लामा विद्यालय तथा क्याम्पसस्तरमै पुगेर विद्यार्थी, शिक्षक र अभिभावकका सुझाव संकलन गर्ने क्रममा उक्त कार्यक्रम आयोजना गरिएको थियो।
उनले कार्यक्रममा दुई जना व्यक्तिले आएर हल्ला गरेपछि बाँकी विद्यार्थी, शिक्षक र अभिभावकको सहभागिता प्रभावित हुने अवस्था बनेकाले आफूहरू कार्यक्रमस्थलबाट बाहिरिएको बताए।
पोखरेलले घटनाको एक मिनेटभन्दा पनि छोटो भिडियो क्लिप काटेर सम्पूर्ण घटनाको सन्दर्भ बङ्ग्याउने र अनावश्यक भ्रम फैलाउने प्रयास भएको दाबी गरे। लोकतान्त्रिक व्यवस्थामा असहमति जनाउने अधिकार सबैलाई भए पनि पूरा सन्दर्भ नबुझी छोटो भिडियोका आधारमा धारणा बनाउनु उचित नहुने उनको भनाइ छ।
उनका अनुसार शिक्षा सुधारको उद्देश्यसहित मधेशका विभिन्न जिल्लामा विद्यार्थी, शिक्षक तथा अभिभावकसँग प्रत्यक्ष संवाद गरी सुझाव संकलन भइरहेको छ। आगामी शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याउने तयारी गरिएको ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ जस्ता अवधारणाका विषयमा समेत सरोकारवालासँग छलफल भइरहेको उनले बताए।
मन्त्री पोखरेलले सिरहा घटनापछि पनि आफूहरू सिरहास्थित बहिरा बालबालिका अध्ययन गर्ने विद्यालय तथा मदरसा शिक्षालयमा पुगेर विद्यार्थीहरूसँग संवाद गरेको जानकारी दिए। उनका अनुसार शनिबार मात्रै करिब ८ देखि १० वटा विद्यालयमा पुगेर सुझाव संकलन गरिएको थियो।
उनले मधेश प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको बढ्दो प्रभाव र शिक्षाका क्षेत्रमा भइरहेका कामप्रति असन्तुष्टि हुन सक्ने उल्लेख गर्दै त्यसकै आधारमा भ्रम फैलाउनुभन्दा आफूहरूले गरिरहेको कामको मूल्याङ्कन जनतालाई नै गर्न दिनुपर्ने बताए।
‘हामी यहाँ राजनीतिक स्टन्ट वा हल्ला गर्न होइन, ग्राउन्डमै पुगेर शिक्षा क्षेत्रमा वास्तविक र सकारात्मक परिवर्तन ल्याउन आएका हौँ,’ पोखरेलले भने, ‘हल्लाभन्दा काम ठूलो हो, र हाम्रो काम र नियतको मूल्याङ्कन जनता स्वयंले गर्नेछन्।’
मन्त्री पोखरेलले कुनै पनि भ्रम वा भ्रामक प्रचारले शिक्षा सुधारको अभियानलाई रोक्न नसक्ने दाबी गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?