जेनजी पर्साद्वारा बाढीपीडितका लागि १५ लाखसम्मको राहत सामग्री संकलन
वीरगञ्ज, २७ भदौ
जेनजी पर्साले बाढी तथा विपद्बाट प्रभावित परिवारका लागि करिब १० देखि १५ लाख रुपैयाँ बराबरको राहत सामग्री संकलन गरेको छ।
संकलित राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याई आवश्यकताका आधारमा वितरण गर्ने तयारी गरिएको आयोजकले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलको नेतृत्वमा संकलन गरिएको उक्त राहत सामग्री शनिबार नै धादिङतर्फ पठाउने तयारी गरिएको हो।

पटेलका अनुसार पर्साका प्रमुख जिल्ला अधिकारी र धादिङका प्रमुख जिल्ला अधिकारीबीचको समन्वयमा प्रभावित क्षेत्रमा आवश्यक सामग्री पहिचान गरी सोहीअनुसार राहत पठाउन लागिएको हो।
संकलित राहत सामग्रीमा दाल, चामल, भाँडाकुँडा, लत्ताकपडा, चप्पललगायत दैनिक जीवनमा आवश्यक पर्ने सामग्री रहेका छन्।
पटेलले विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु सबैको सामाजिक दायित्व भएको बताए। उनले संकलित सामग्री सम्बन्धित निकायसँगको समन्वयमा प्रभावित क्षेत्रमा पुर्याएर वास्तविक आवश्यकताका आधारमा वितरण गरिने जानकारी दिए।
राहत वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन स्थानीय प्रशासनसँग निरन्तर समन्वय गरिने उनले बताए। प्रभावित परिवारसम्म आवश्यक सामग्री समयमै पुर्याउने उद्देश्यले राहत अभियान अघि बढाइएको उनको भनाइ छ।
जेनजी पर्साले विपद्को समयमा मानवीय सहयोग तथा सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै राहत संकलन अभियान सञ्चालन गरेको जनाएको छ। संकलित सामग्री धादिङका प्रभावित क्षेत्रमा पुर्याएपछि स्थानीय प्रशासन तथा सम्बन्धित पक्षको समन्वयमा वितरण गरिनेछ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





