सत्य, निष्पक्ष र विश्वसनीय

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

न्युज डेस्क
२०८३ भाद्र २७, शनिबार १४:०१

सल्यान, २७ भदौ
सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा बोलेरो जिप अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

शनिबार बिहान करिब ८ बजे लु.प्र.०२–००१ ज ०००५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। दुर्घटनामा चालकसहित ६ जना घाइते भएका थिए।

घाइतेमध्ये उपचारका लागि जिल्ला अस्पताल सल्यान पठाइएका दुई जनालाई चिकित्सकले बिहान १०ः२२ बजे मृत घोषणा गरेका हुन्।

मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–६ पोखरीका ८ वर्षीय रेशम बुढाथोकी र त्रिवेणी–५ सल्लेका करिब १८ वर्षीया बिपना बुढाथोकी रहेका छन्।

दुर्घटनामा त्रिवेणी गाउँपालिका–५ सिंखका २४ वर्षीय चालक भुपाल पुन, सोही स्थानका २९ वर्षीय पारस बोहरा र ५० वर्षीय डिल्लीबहादुर वली तथा त्रिवेणी–६ की करिब ४२ वर्षीया लालमति बुढाथोकी घाइते भएका छन्।

घाइते चारै जनालाई त्रिवेणी हेल्थ केयर लुहाममा सामान्य उपचारपछि थप उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?