सत्य, निष्पक्ष र विश्वसनीय

‘मेड इन चेकोस्लोभाकिया’ लेखिएको पेस्तोलसहित दैलेखमा दुई जना पक्राउ

न्युज डेस्क
२०८३ भाद्र २७, शनिबार १२:५२

सुर्खेत, २७ भदौ
दैलेखमा ‘मेड इन चेकोस्लोभाकिया’ लेखिएको पेस्तोल, म्यागजिन र गोलीसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा आठबीस नगरपालिका–६ का ३० वर्षीय भीमबहादुर शाही र आठबीस नगरपालिका–५ का २७ वर्षीय भूपेन्द्र शाही रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उनीहरूमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको थियो। सोही क्रममा सोधपुछ गर्दा भूपेन्द्र शाहीले आठबीस नगरपालिका–४ स्थित राकम खोलीबजार नजिकैको खोल्सामा पेस्तोल लुकाएर राखेको बताएका थिए।
उनको बयानका आधारमा प्रहरी निरीक्षक कृष्ण चन्द्रको कमान्डमा खटिएको तीन सदस्यीय प्रहरी टोलीले स्थानीय प्रहरी कार्यालय राकम, दैलेखसँग समन्वय गरी खोजी गरेको थियो। खोजीका क्रममा खोलीबजार नजिकै खोल्साको आडमा कालो प्लास्टिकमा पोको पारेर राखिएको अवस्थामा पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद पेस्तोलमा ‘मेड इन चेकोस्लोभाकिया’ लेखिएको छ भने १०५०२८ नम्बर उल्लेख छ। पेस्तोलसँगै एक थान म्यागजिन र त्यसमा प्रयोग हुने पाँच राउन्ड गोलीसमेत बरामद गरिएको छ।
बरामद हतियारसहित पक्राउ परेका दुवै जनामाथि हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?