सत्य, निष्पक्ष र विश्वसनीय

ट्याटु हाउसको आवरणमा लागूऔषध कारोबार, ट्रामाडोल र हेरोइनसहित ४ जना पक्राउ

न्युज डेस्क
२०८३ भाद्र २७, शनिबार ०६:४४

काठमाडौं, २७ भदौ
काठमाडौं उपत्यकामा ट्याटु हाउसको आवरणमा लागूऔषध कारोबार भइरहेको अवस्थामा चार जना पक्राउ परेका छन्।
लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा ललितपुर महानगरपालिका–१५, हात्तीवनस्थित नाम नराखिएको ट्याटु हाउसबाट तीन जनालाई पक्राउ गरेको हो।
प्रहरीले उनीहरूको साथबाट ट्रामाडोल २ हजार ७०० क्याप्सुल र खैरो हेरोइन ३.८०० ग्राम बरामद गरेको जनाएको छ। थप अनुसन्धानका क्रममा लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा ललितपुर महानगरपालिका–२६, मीननगरबाट थप एक जनालाई ट्रामाडोल ६ हजार ३४० क्याप्सुलसहित पक्राउ गरिएको ब्युरोले जनाएको छ।
पक्राउ पर्नेमा धादिङ सिद्धलेक गाउँपालिका–५ का २९ वर्षीय जनार्दन घले, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–११ का २६ वर्षीय ज्वाला श्रेष्ठ, मकवानपुर मकवानपुरगढी गाउँपालिका–२ का ३१ वर्षीय महेन्द्र विश्वकर्मा र काभ्रेपलाञ्चोक पनौती नगरपालिका–१ का ३१ वर्षीय राजु तामाङ रहेका छन्।
प्रहरीका अनुसार उनीहरूबाट कुल ट्रामाडोल १० हजार ४० क्याप्सुल, खैरो हेरोइन ३.८०० ग्राम, डिजिटल तराजु एक थान र मोबाइल चार थान बरामद भएको छ।
पक्राउ परेकाहरूमाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?