भारतबाट अवैध रूपमा ल्याइएका मोबाइल पार्ट्ससहित पिकअप गाडी नियन्त्रणमा
काठमाडौं, २६ भदौ
पश्चिम नवलपरासीमा भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याइँदै गरेको ठूलो परिमाणको मोबाइल पार्ट्ससहित पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्लाको सरावल गाउँपालिका–७ स्थित भन्सार टोलमा भारतबाट नेपालतर्फ ल्याई लु.३ च २९२९ नम्बरको पिकअप गाडीमा लोड गरिएको अवस्थामा विभिन्न मोबाइल पार्ट्स बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।
इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बल, नेपाल बीओपी भुजहवाबाट खटिएको संयुक्त टोलीले सामानसहित गाडी नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार बरामद सामानमा एयरपड्स (सेतो) १ हजार ७५५ पिस, एयरपड्स (कालो) ४३२ पिस, टेम्पर ग्लास (कालो) ३२ हजार ८०० पिस, टेम्पर ग्लास (सेतो) ४ हजार ५०० पिस, मोबाइल कभर २३० पिस र एक बोरा प्लास्टिक रहेका छन्।
बरामद सामान र पिकअप गाडीको गरी करिब १ करोड २४ लाख ६८ हजार रुपैयाँ बराबरको मूल्यांकन गरिएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएको गाडी र सामानलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाउन महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





