ट्याङ्कर इजाजत प्रकरण : एक करोड पाँच लाख असुलीको आरोप, महासंघ अध्यक्ष मनोज दासमाथि अनुसन्धान
वीरगञ्ज, २६ भदौ
मोतीहारी–अमलेखगञ्ज रुटका १०५ ट्याङ्करलाई हवाई इन्धन ढुवानीको इजाजत दिने क्रममा व्यवसायीबाट करिब एक करोड पाँच लाख रुपैयाँ उठाइएको आरोपमा पर्सा प्रहरीले अनुसन्धान थालेको छ।
व्यवसायीहरूका अनुसार प्रतिट्याङ्कर एक लाख रुपैयाँ मागिएको थियो। त्यसपछि रकम महासंघका पदाधिकारीसहित विभिन्न व्यक्तिका बैंक खाता र ई–सेवा खातामा जम्मा गरिएको थियो। प्रहरीले भने यो रकम सरकारी प्रयोजनमा दाखिला भएको कुनै प्रमाण नभेटिएको जनाएको छ।

अनुसन्धानका क्रममा मकवानपुरका माधव मानन्धर, बारा सिमराका ठाकुर भट्टराई, सुदामा प्रसाद साह र हेटौंडाका रामजी क्षेत्री पक्राउ परेका थिए। जिल्ला अदालत पर्साले उनीहरूलाई जनही दुई लाख रुपैयाँ धरौटीमा छाडेको छ। विष्णुप्रसाद दाहाल, अमित मल्ल, मनोजकुमार दास र दीपक शिवाकोटी भने फरार रहेको प्रहरीले जनाएको थियो।
तर महासंघ अध्यक्ष मनोजकुमार दासले आफू अदालतमा उपस्थित भएर धरौटीमा छुटेको दाबी गरेका छन्।
प्रहरीले इजाजत बाँडफाँटमा निगमका कर्मचारीको भूमिकाबारे पनि अनुसन्धान गरिरहेको छ। निगमका प्रवक्ता मनोज ठाकुरले भने इजाजतपत्रका लागि कुनै अतिरिक्त शुल्क नलिएको बताएका छन्।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





