सत्य, निष्पक्ष र विश्वसनीय

भन्सार छलीका सामानसहित तीन जना पक्राउ, ४ लाख ७० हजार बराबरको सामान बरामद

न्युज डेस्क
२०८३ असार २३, मंगलवार २१:३४

बारा, २३ असार
बाराको सिम्रौनगढ नगरपालिका–१ वैरियास्थित हनुमान मन्दिर नजिक प्रहरीले भन्सार छली गरी नेपाल भित्र्याइएको आशंकामा विभिन्न सामानसहित तीन जनालाई पक्राउ गरेको छ।
प्रहरी चौकी श्रीनगर बैरियाबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ह ३२५८ नम्बरको ई–रिक्सा र भारतीय नम्बर BR06Z6215 को मोटरसाइकललाई रोकी जाँच गर्ने क्रममा ई–रिक्साभित्र लोड गरिएको ब्याट्री र इन्भर्टर फेला पारेको थियो। जाँचका क्रममा उक्त सामानको बिल तथा भन्सारसम्बन्धी कागजात प्रस्तुत गर्न नसकेपछि भन्सार छली गरी ल्याइएको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा भारतको बिहार राज्य मुजफ्फरपुर निवासी २२ वर्षीय अमन सिंह, बिहार राज्य मोतिहारी जिल्लाको बनकटवा प्रखण्ड बिजबनी निवासी २० वर्षीय अमर कुमार तथा बारा सिम्रौनगढ नगरपालिका–७ कबलपुर निवासी ४० वर्षीय खजान्ति साह रहेका छन्।
प्रहरीले दुई थान Exide ब्याट्री, एक थान Eastman 105Ah ब्याट्री, एक थान Microtek इन्भर्टर, मधेश प्रदेश ०३–००१ ह ३२५८ नम्बरको ई–रिक्सा र भारतीय नम्बरको मोटरसाइकल बरामद गरेको छ।
बरामद सामान तथा सवारी साधनको अनुमानित मूल्य ४ लाख ७० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जना, बरामद सामान तथा सवारी साधनलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको प्रहरीले जानकारी दिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?