वीरगञ्जको घण्टाघर–माइस्थान सडक विस्तार अब कानुनी र प्राविधिक आधारमा अघि बढ्ने
वीरगञ्ज, २६ असार
वीरगञ्जको घण्टाघरदेखि माइस्थानसम्मको त्रिभुवन राजपथ विस्तारमा देखिएको विवाद र अन्योल समाधानका लागि जिल्ला प्रशासन कार्यालय पर्सामा बिहीबार प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा सरोकारवालाहरूबीच बैठक सम्पन्न भएको छ।
बैठकमा सडक विस्तार कार्यलाई कानुनी तथा प्राविधिक आधारमा अघि बढाउने विषयमा विस्तृत छलफल भएको थियो। छलफलमा सडक डिभिजन कार्यालय हेटौँडा, नापी कार्यालय पर्सा, वीरगञ्ज महानगरपालिका, वीरगञ्ज बचाउ सडक संघर्ष समिति, सडक विस्तारबाट प्रभावित घरधनी तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।
बैठकले आर्थिक वर्ष २०४६/४७ मा नापी कार्यालय पर्साले तयार गरेको आधिकारिक नक्साअनुसार घण्टाघरदेखि माइस्थानसम्मको त्रिभुवन राजपथको चौडाइ स्पष्ट देखिने नक्सा तथा आवश्यक प्राविधिक विवरण उपलब्ध गराउने निर्णय गरेको छ।
उक्त विवरणको अध्ययनपछि सडक डिभिजन कार्यालय हेटौँडाले नापी कार्यालय पर्सा र वीरगञ्ज महानगरपालिकाका प्राविधिकसँग समन्वय गरी सडकको केन्द्ररेखा (सेन्टर लाइन) यकिन गर्नेछ। त्यसपछि केन्द्ररेखाबाट दायाँ–बायाँ २५–२५ मिटर क्षेत्र निर्धारण गरी सो क्षेत्रभित्र रहेका अतिक्रमण हटाउने प्रक्रिया अघि बढाइने निर्णय गरिएको छ।
बैठकले गण्डकदेखि घण्टाघरसम्म तथा मितेरी पुलदेखि माइस्थान हुँदै घण्टाघरसम्मको सडक खण्डको एलाइनमेन्ट (Alignment) मिलान गरी एउटै मापदण्डअनुसार सडकको सीमाङ्कन गर्ने निर्णय पनि गरेको छ।
बैठकमा वीरगञ्ज बचाउ सडक संघर्ष समितिका अध्यक्ष कुन्दन रौनियार, प्रभावित घरधनी तथा अन्य सरोकारवालाहरूले सडक विस्तार कानुनसम्मत, पारदर्शी र सबै पक्षको हितलाई ध्यानमा राखेर कार्यान्वयन हुनुपर्नेमा जोड दिएका थिए।
पछिल्लो समय त्रिभुवन राजपथ विस्तारलाई लिएर स्थानीय, व्यवसायी तथा सरोकारवालाहरूबीच विभिन्न विवाद र चासो देखिँदै आएको थियो। बिहीबार भएको सहमतिसँगै प्राविधिक आधारमा सडकको वास्तविक सीमा निर्धारण गरी सडक विस्तारको काम व्यवस्थित र पारदर्शी ढंगले अघि बढ्ने अपेक्षा गरिएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




