महोत्तरीमा पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयनबारे अन्तरक्रिया सम्पन्न
महोत्तरी, २९ असार
मिडिया काउन्सिल मधेश प्रदेशको आयोजनामा तथा नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको समन्वयमा पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयनसम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
मिडिया काउन्सिल मधेश प्रदेशकी कार्यवाहक अध्यक्ष बन्दना झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेश सरकारकी श्रम तथा यातायात मन्त्री शारदा देवी थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, केन्द्रीय सदस्य राजेश कर्ण, केन्द्रीय सदस्य सिकेन्द्र पासवान, महोत्तरी शाखा अध्यक्ष महेश दास, बारा शाखा अध्यक्ष रमेश सुवेदी तथा पर्सा शाखा अध्यक्ष ओमप्रकाश खनाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै पत्रकारिताको विश्वसनीयता कायम राख्न पत्रकार आचारसंहिताको पूर्ण पालना अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो।

अन्तरक्रिया कार्यक्रममा पत्रकारिता क्षेत्रमा आचारसंहिताको प्रभावकारी कार्यान्वयन, विद्यमान चुनौती तथा समाधानका उपायबारे विस्तृत छलफल भएको थियो। कार्यक्रममा अशोक तिवारी, राजेश कर्ण, केसी लामिछाने र महेश दासले आचारसंहिता कार्यान्वयनसँग सम्बन्धित कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
प्रस्तुत कार्यपत्रमाथि सहभागी पत्रकारहरूले आफ्ना जिज्ञासा, सुझाव तथा अनुभवहरू राख्दै पत्रकारितालाई थप जिम्मेवार, मर्यादित र विश्वसनीय बनाउन आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा साझा प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा मधेश प्रदेशका आठ जिल्लाबाट पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण रिंकु मिश्रले गर्नुभएको थियो।
आयोजकका अनुसार कार्यक्रमले पत्रकारिताको पेशागत मर्यादा, उत्तरदायित्व र विश्वसनीयता अभिवृद्धि गर्न पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




