सांसदलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन संसद् सचिवालयको आग्रह
काठमाडौं, १ साउन
संघीय संसद् सचिवालयले आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण निर्धारित समयभित्र बुझाउन संघीय संसद्का सबै सदस्यलाई अनुरोध गरेको छ।
भ्रष्टाचार निवारण ऐन, २०५९ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ बमोजिम आर्थिक वर्ष २०८२/८३ समाप्त भएको मितिले ६० दिनभित्र, अर्थात् २०८३ साउन १ गतेदेखि भदौ २९ गतेसम्म सांसदहरूले आफ्नो तथा परिवारका सदस्यको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सारित अवस्थासहितको अद्यावधिक विवरण बुझाउनुपर्ने सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार सम्पत्ति विवरण सिलबन्दी खाममा राखी संघीय संसद् सचिवालयअन्तर्गत संसद् सुविधा व्यवस्थापन शाखा (भवन नं. १, कोठा नं. २०७) मा दर्ता गराउनुपर्नेछ। सम्पत्ति विवरण फाराम संसद् सुविधा व्यवस्थापन शाखाबाट प्राप्त गर्न सकिनेछ भने www.parliament.gov.np वेबसाइटबाट पनि डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ।
सचिवालयले जारी गरेको सूचनाअनुसार सिलबन्दी खाममा सांसदको नाम, लिङ्ग, कार्यालय, पद, प्रतिनिधिसभा सदस्यका हकमा जिल्ला/निर्वाचन क्षेत्र नम्बर, राष्ट्रियसभा सदस्यका हकमा निर्वाचित प्रदेश, स्थायी ठेगाना, मोबाइल नम्बर र इमेल अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





