सत्य, निष्पक्ष र विश्वसनीय

काठमाडौंको कतार भिसा केन्द्रअगाडि पाँच सवारी एकापसमा ठोक्किँदा १० जना घाइते

न्युज डेस्क
२०८३ श्रावण १, शुक्रबार १९:५९

काठमाडौं , १ साउन
काठमाडौं महानगरपालिका–४ स्थित कतार भिसा केन्द्रअगाडिको सडकमा शुक्रबार पाँच वटा सवारीसाधन एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन्।

प्रहरीका अनुसार चाबहिलबाट चक्रपथतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको कार, एउटा ट्याक्सी र तीन वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा सवारी चालक तथा यात्रुसहित १० जना घाइते भएका छन्।

घाइतेमध्ये काठमाडौं बसुन्धाराकी ६५ वर्षीया कुन्तिमाया लिम्बूको टाउको र हातमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। अन्य घाइतेमा सिवानी शाही, सुशान्त शाही, विकी शाहा, उर्जा लामा, निउजित शाह, विष्णुमाया खापुङ, पार्वती तामाङ, बिनोद थापा मगर र जीवन राना मगर रहेका छन्। उनीहरूको अवस्था मध्यमदेखि सामान्य रहेको जनाइएको छ।

दुर्घटनामा घाइते भएका सबैको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा संलग्न सबै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?