इन्स्पेक्टर विशाल मल्ल मधेश प्रदेशकै सर्वोत्कृष्ट प्रहरी घोषित
जनकपुरधाम, ७ साउन
मधेश प्रदेश प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय महेशपुर पतार, सिरहाका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) विशाल मल्ललाई मधेश प्रदेशकै सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको छ।
प्रहरी सेवामा व्यवसायिक दक्षता, कार्यसम्पादन र अपराध नियन्त्रणमा उल्लेखनीय योगदानका आधारमा इन्स्पेक्टर मल्ल उत्कृष्ट प्रहरीका रूपमा छनोट भएका हुन्। उनलाई मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारीले प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका छन्।
इन्स्पेक्टर मल्लले असार ७ गते कुख्यात लागूऔषध कारोबारी भारतका २८ वर्षीय छोटु भनिने रञ्जितकुमार पासवानलाई खुट्टामा गोली प्रहार गरी लागूऔषधसहित नियन्त्रणमा लिएका थिए। त्यसैगरी असार १९ गते भारतको मधुवनी जिल्लाका अब्दुल कलामलाई पनि खुट्टामा गोली प्रहार गरी लागूऔषधसहित पक्राउ गर्न सफल भएका थिए।
लागूऔषध नियन्त्रण तथा अपराध अनुसन्धानमा देखाएको सक्रियता र सफल कार्यसम्पादनका कारण इन्स्पेक्टर मल्ललाई मधेश प्रदेशकै सर्वोत्कृष्ट प्रहरीका रूपमा सम्मान गरिएको प्रहरीले जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





