सत्य, निष्पक्ष र विश्वसनीय

जिल्ला प्रहरी कार्यालय धनुषामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र र प्रहरी आवास भवन उद्घाटन

न्युज डेस्क
२०८३ श्रावण ९, शनिबार १७:१४

जनकपुरधाम, ९ साउन
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय धनुषाको परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र तथा प्रहरी आवास भवन शनिबार एक विशेष समारोहबीच उद्घाटन गर्नुभएको छ। उद्घाटनपछि उहाँले नवनिर्मित भवनहरूको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले नवनिर्मित सेवा केन्द्रले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकप्रति नेपाल प्रहरीको दायित्वलाई अझ प्रभावकारी, संवेदनशील र परिणाममुखी रूपमा निर्वाह गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले पीडितमैत्री, पीडित–केन्द्रित, व्यावसायिक तथा प्रविधिमैत्री सेवा प्रवाहमार्फत सेवाग्राहीलाई सहज, सुरक्षित र सम्मानजनक पहुँच सुनिश्चित गरिने बताउनुभयो।

उहाँले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरू समाजका अत्यन्त संवेदनशील र जोखिममा रहेका वर्ग भएकाले उनीहरूमाथि हुने अपराध न्यूनीकरण तथा न्यायमा सहज पहुँच सुनिश्चित गर्नु सबै सरोकारवाला निकायको साझा दायित्व भएको उल्लेख गर्नुभयो। साथै भौतिक पूर्वाधार विकासमा UNOPS ले पुर्‍याएको सहयोगको प्रशंसा गर्दै नवनिर्मित भवनहरूले प्रहरी र सेवाग्राहीबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।

सोही अवसरमा भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न व्यक्ति तथा संस्थाका प्रतिनिधिहरूलाई प्रहरी महानिरीक्षक कार्कीले प्रशंसापत्र प्रदान गर्नुभयो।

कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो भने UNOPS का अपरेसन कोअर्डिनेटर तथा अवकाशप्राप्त प्रहरी वरिष्ठ उपरीक्षक ईन्द्र न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो। UNOPS का वरिष्ठ इन्जिनियर शिशिर उपाध्यायले भवन निर्माणसम्बन्धी प्राविधिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

UNOPS को सहयोगमा ३ करोड ९९ लाख ७६ हजार ५ सय ३ रुपैयाँ १६ पैसाको लागतमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र र प्रहरी आवास भवन निर्माण सम्पन्न भएको हो।

उद्घाटन समारोहमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, राजनीतिक दलका प्रतिनिधिहरू, संघ–संस्थाका पदाधिकारी, स्थानीय समाजसेवी, भद्रभलाद्मी, सञ्चारकर्मी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?