सत्य, निष्पक्ष र विश्वसनीय

लायन्स डिस्ट्रिक्ट ३२२ ई को पदस्थापन समारोह ‘आरोहण’ सम्पन्न,रक्सौल लायन्स क्लब सम्मानित

न्युज डेस्क
२०८३ श्रावण ९, शनिबार १८:३३

भारत, रक्सौल ९ साउन
लायन्स डिस्ट्रिक्ट ३२२ ई को पदस्थापन समारोह ‘आरोहण’ भारतको राजधानी पटनास्थित ताज होटलमा भव्य तथा गरिमामय वातावरणमा सम्पन्न भएको छ। समारोहमा देश–विदेशबाट आएका लायन्स पदाधिकारी, विशिष्ट अतिथि तथा समाजसेवीहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई विशेष बनाएको थियो।

कार्यक्रमको अध्यक्षता लायनिस्टिक वर्ष २०२६–२७ का लागि डिस्ट्रिक्ट गभर्नर लायन संगीता नन्दाले गरेकी थिइन्। समारोहका प्रमुख अतिथिका रूपमा केन्याबाट आएका लायन्स क्लब इन्टरनेशनल (२०२६–२७) का प्रथम अन्तर्राष्ट्रिय उपाध्यक्ष लायन डा. मनोज शाह तथा उनकी धर्मपत्नी लायन जेना शाहको उपस्थिति रहेको थियो। साथै पूर्व अन्तर्राष्ट्रिय निर्देशक लायन बी.के. लुथरा, बिहार सरकारका उपमुख्यमन्त्री विजय कुमार चौधरी, डा. झा, बिमल जैन लगायत पूर्व तथा वर्तमान गभर्नरहरूको पनि सहभागिता रहेको थियो।

समारोहका अवसरमा लायन्स क्लब अफ रक्सौलका वरिष्ठ सदस्य लायन बिमल सर्राफ र लायन साइमन रेक्सलाई एलसीआईएफ (LCIF) मा उत्कृष्ट योगदान पुर्‍याएको भन्दै एप्रिसिएसन अवार्ड प्रदान गरी सम्मान गरिएको थियो। उक्त सम्मानपछि रक्सौल लायन्स क्लबका सदस्यहरूमा हर्ष र गौरवको वातावरण छाएको थियो।

कार्यक्रममा प्रथम उपडिस्ट्रिक्ट गभर्नर लायन अविनाश चौधरी, द्वितीय उपडिस्ट्रिक्ट गभर्नर लायन गीता शर्मा तथा डिस्ट्रिक्टका सम्पूर्ण पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथ लायन्स क्लब इन्टरनेशनलका प्रथम उपाध्यक्ष डा. मनोज शाहले गराएका थिए। शपथ ग्रहण समारोहले संगठनको सेवा, समर्पण र नेतृत्वका मूल्यमान्यतालाई अझ सुदृढ बनाउने सन्देश दिएको थियो।

प्रमुख अतिथि डा. मनोज शाहले आफ्नो सम्बोधनमा लायन्स आन्दोलनको भावना, मानव सेवाको महत्व तथा समाजप्रति लायन्स क्लबको जिम्मेवारीबारे प्रकाश पार्दै लायन्स क्लबको उद्देश्य केवल सेवा कार्यमा सीमित नभई समाजमा सकारात्मक परिवर्तन ल्याउनु पनि रहेको बताए।

समारोहमा लायन्स क्लब अफ रक्सौलका पूर्व अध्यक्ष लायन बिमल सर्राफ, लायन नारायण रुंगटा तथा पूर्व कोषाध्यक्ष लायन अमित कुमारको सक्रिय सहभागिता रहेको थियो। त्यसैगरी रक्सौल क्लबकै पूर्व अध्यक्ष लायन साइमन रेक्स र पूर्व सचिव लायन मोहम्मद निजामुद्दीनले पनि डिस्ट्रिक्ट क्याबिनेटमा स्थान पाएका छन्। उनीहरूको सहभागिताले रक्सौल लायन्स क्लबको सशक्त उपस्थिति र सक्रिय भूमिकालाई थप उजागर गरेको थियो।

भव्य समारोहको सफल आयोजना तथा गरिमामय व्यवस्थापनका लागि सहभागी अतिथि, पदाधिकारी तथा सदस्यहरूले आयोजक समितिको प्रशंसा गरेका थिए। समारोहले लायन्स डिस्ट्रिक्ट ३२२ ई को २०२६–२७ कार्यकालका लागि सेवा, नेतृत्व तथा संगठनात्मक सुदृढीकरणको सशक्त सन्देश दिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?