सत्य, निष्पक्ष र विश्वसनीय

रोटरी क्लब अफ वीरगञ्जको ३९औँ पदस्थापन सम्पन्न, राकेश मिश्रले सम्हाले अध्यक्षको जिम्मेवारी

न्युज डेस्क
२०८३ श्रावण ९, शनिबार २०:३३

वीरगञ्ज, ९ साउन
रोटरी क्लब अफ वीरगञ्जको ३९औँ पदस्थापन (इन्स्टलेसन) समारोह शनिबार वीरगञ्जस्थित होटल भिस्वामा भव्य तथा गरिमामय वातावरणमा सम्पन्न भएको छ। समारोहमार्फत रोटेरियन राकेश मिश्रले सन् २०२६–२७ का लागि क्लबको अध्यक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै औपचारिक रूपमा नेतृत्व सम्हालेका छन्।

कार्यक्रम रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर (२०२६–२७) रोटेरियन विष्णुबहादुर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। सो अवसरमा नयाँ कार्यसमितिको समेत घोषणा गरिएको छ।

नवगठित कार्यसमितिमा रोटेरियन श्वेता गुप्ता सचिव, रोटेरियन गोपाल खेतान तत्कालीन अध्यक्ष, रोटेरियन दीनदयाल केडिया अध्यक्ष–निर्वाचित, रोटेरियन अमित कुमार गुप्ता उपाध्यक्ष, रोटेरियन पियुष गुप्ता सहसचिव, रोटेरियन डा. अमर केयाल कोषाध्यक्ष, रोटेरियन डा. प्रेरणा प्रियदर्शिनी सह–कोषाध्यक्ष, रोटेरियन सोहन पोद्दार क्लब प्रशासन निर्देशक, रोटेरियन अभिषेक चौधरी सदस्यता निर्देशक, रोटेरियन रणजेश श्रेष्ठ क्लब प्रशासन समिति संयोजक तथा रोटेरियन पूजा खत्री सदस्यता समिति संयोजकमा मनोनीत भएका छन्। साथै विभिन्न समिति तथा उपसमितिहरूमा पनि सदस्यहरूको मनोनयन गरिएको क्लबले जनाएको छ।

समारोहमा नेपाल तथा भारतका विभिन्न स्थानबाट रोटरी क्लबका पदाधिकारी, सदस्य तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। साथै विभिन्न सामाजिक व्यक्तित्व, उद्योगी, व्यवसायी, पेशाकर्मी तथा आमन्त्रित अतिथिहरूको पनि उत्साहजनक उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर विष्णुबहादुर कार्कीले रोटरीका मानवीय सेवा, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सबै सदस्य एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।

नवनिर्वाचित अध्यक्ष राकेश मिश्रले आफ्नो कार्यकालमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा सशक्तीकरण तथा सामुदायिक सेवाका कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले रोटरीको आदर्श “सेवा नै सर्वोपरि” भन्ने भावनालाई आत्मसात गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने अभियानलाई निरन्तरता दिने विश्वास व्यक्त गरे।

समारोहमा निवर्तमान कार्यसमितिबाट नयाँ नेतृत्वलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिएको थियो। साथै उत्कृष्ट योगदान पुर्‍याउने सदस्यहरूलाई सम्मान गरिएको, सांस्कृतिक प्रस्तुति, शुभकामना मन्तव्य तथा आपसी भेटघाटसँगै कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?