सत्य, निष्पक्ष र विश्वसनीय

अनुसन्धान प्रभावित पार्ने गरी समाचार प्रसारण गरेको आरोपमा स्वयंघोषित पत्रकार पक्राउ

न्युज डेस्क
२०८३ श्रावण १४, बिहीबार ०८:५२

विराटनगर, १४ साउन
मोरङ प्रहरीले अनुसन्धान कार्य प्रभावित पार्ने गरी समाचार सम्प्रेषण गरेको आरोपमा एक स्वयंघोषित पत्रकारलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सुनवर्षी नगरपालिकामा एक बालिकामाथि भएको सामूहिक जबर्जस्ती करणी घटनासम्बन्धी अनुसन्धानकै क्रममा कोशी आवाज नामक अनलाइन मिडियामार्फत फेसबुकमा आफूलाई पत्रकार बताउने चन्दन कुमार पासवानले पीडित परिवारको वास्तविक परिचय खुल्ने गरी भिडियो समाचार प्रसारण गरेका थिए।

प्रहरीका अनुसार पीडितको उजुरीका आधारमा चन्दन कुमार पासवानलाई साउन १२ गते पक्राउ गरिएको हो। उनलाई जिल्ला प्रहरी कार्यालय रानीबाट थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रंगेली पठाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान तथा पीडितको गोपनीयतामा असर पुग्ने गरी समाचार सम्प्रेषण नगर्न सञ्चारकर्मी तथा सर्वसाधारणलाई आग्रह गरेको छ। उक्त घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?