वडाध्यक्ष पक्राउको विरोधमा वीरगञ्जका ३२ वटै वडा कार्यालय बन्द, अत्यावश्यकबाहेक सबै सेवा ठप्प
वीरगञ्ज, १४ साउन
वीरगञ्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदी पक्राउको विरोधमा महानगरपालिकाका ३२ वटै वडा कार्यालय अनिश्चितकालका लागि बन्द गरिएका छन्। महानगरका सम्पूर्ण वडाध्यक्षहरूले संयुक्त रूपमा विरोध जनाउँदै साउन १३ गतेदेखि अत्यावश्यक सेवाबाहेकका सबै प्रशासनिक सेवा स्थगित गर्ने निर्णय गरेका हुन्।
वडा कार्यालय बन्द भएसँगै सिफारिस, जन्मदर्ता, विवाह दर्ता, बसाइँसराइ, विभिन्न प्रमाणित तथा अन्य नियमित प्रशासनिक सेवाहरू प्रभावित भएका छन्। सेवा लिन वडा कार्यालय पुगेका सर्वसाधारण सेवाग्राहीहरू समस्यामा परेका छन्।
वडाध्यक्षहरूको भनाइअनुसार, साउन ९ गते वीरगञ्ज–२५ निवासी राजकुमार कुर्मीको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि उत्पन्न विवादका क्रममा पीडित परिवार, प्रशासन र सम्बन्धित पक्षबीच सहजीकरण गर्ने क्रममा व्यक्त गरिएको भनिएको धारणालाई आधार बनाएर प्रहरीले वडाध्यक्ष चतुर्वेदीलाई पक्राउ गरेको हो। उनीहरूका अनुसार चतुर्वेदीलाई महानगरपालिका कार्यालय परिसरबाटै पक्राउ गरिएको थियो।
जनप्रतिनिधिमाथि अनावश्यक धरपकड गरिएको आरोप लगाउँदै वडाध्यक्षहरूले यसअघि साउन १२ गते संयुक्त प्रेस विज्ञप्तिमार्फत तत्काल रिहाइको माग गरेका थिए। माग सम्बोधन नभएपछि बाध्य भएर वडा कार्यालयका सेवा बन्द गर्ने निर्णय लिनुपरेको उनीहरूको भनाइ छ।
वडाध्यक्षहरूले चतुर्वेदीलाई सम्मानपूर्वक तत्काल रिहा नगरिए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्। साथै आन्दोलनका क्रममा उत्पन्न हुने कुनै पनि असहज परिस्थितिको जिम्मेवारी स्थानीय प्रशासनले लिनुपर्ने उनीहरूको भनाइ छ।
यद्यपि महानगरपालिकाले अत्यावश्यक सेवाहरू भने नियमित रूपमा सञ्चालनमा रहने जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





