सत्य, निष्पक्ष र विश्वसनीय

प्रहरी–समुदाय सहकार्य सुदृढ बनाउने एसपी भट्टराईको प्रतिबद्धता

न्युज डेस्क
२०८३ श्रावण १९, मंगलवार १०:४८

वीरगञ्ज, १९ साउन
ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको आयोजनामा जिल्ला प्रहरी कार्यालय पर्साका नवनियुक्त प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको कार्यालयमा आयोजित कार्यक्रममा केन्द्रका पदाधिकारी, आजीवन सदस्य तथा समाजका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा केन्द्रका सल्लाहकार सुरेश रुङटा, जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी राजु कार्की, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख विक्रम सुवेदी, नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाई, सञ्चारकर्मी अभिलाष गुप्तालगायत विभिन्न सामाजिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो।

अन्तरक्रियाका क्रममा सहभागीहरूले पर्सा जिल्लाको शान्ति–सुरक्षा, लागूऔषध नियन्त्रण, ट्राफिक व्यवस्थापन, चोरी तथा अपराध नियन्त्रण, समुदाय–प्रहरी साझेदारी र सामाजिक सचेतनाका विषयमा आफ्ना सुझाव तथा धारणा राखेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै नवनियुक्त एसपी पवन भट्टराईले प्रहरी र समुदायबीचको विश्वास तथा सहकार्यलाई थप सुदृढ बनाउँदै जिल्लाको शान्ति–सुरक्षा कायम गर्न आफू प्रतिबद्ध रहेको बताए।

अपराध नियन्त्रणमा प्रहरी एक्लैले सफलता हासिल गर्न नसक्ने उल्लेख गर्दै उनले नागरिक, सामाजिक संघसंस्था तथा सञ्चारमाध्यमको सहयोग अपरिहार्य रहेको बताए।

उनले प्रहरी र समुदायबीचको समन्वय प्रभावकारी सुरक्षा व्यवस्थाको आधार भएको उल्लेख गर्दै पर्सामा कानुनको शासन कायम गर्दै नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न प्रहरी प्रतिबद्ध रहेको बताए। समुदायबाट प्राप्त हुने सूचना, सुझाव र सहकार्यलाई उच्च प्राथमिकता दिइने उनको भनाइ थियो।

एसपी भट्टराईले सामाजिक संघसंस्थाले सञ्चालन गर्दै आएका जनचेतनामूलक अभियानको प्रशंसा गर्दै यस्ता कार्यक्रमले अपराध न्यूनीकरण, सामाजिक सद्भाव कायम गर्न तथा सुरक्षित समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

कार्यक्रमको अन्त्यमा ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले एसपी भट्टराईलाई स्वागत गर्दै आगामी दिनमा प्रहरी र समुदायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?