विद्यालयमै शिक्षिकाको हत्या, आक्रमणकारी फरार
भारत, १९ साउन
भारतको हरियाणा राज्यस्थित फरीदाबादको एक निजी विद्यालयमा सोमबार एक महिला शिक्षिकाको छुरा प्रहार गरी हत्या भएको छ। विद्यालय नजिकै रहेको प्रहरी चौकीबाट केही दूरीमा भएको घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार सिकरौना गाउँकी शिक्षिका सन्ध्या नियमित रूपमा पढाउन विद्यालय पुगेकी थिइन्। केही समयपछि अनुहारमा कपडा बाँधेका एक युवक विद्यालय परिसरमा प्रवेश गरी उनलाई भेट्न माग गरेका थिए।

सन्ध्या गेटतर्फ पुगेपछि ती युवकले उनीमाथि छुरा प्रहार गरेको बताइएको छ। विद्यालयमा जडान गरिएको सीसीटीभी फुटेजमा युवक केही समय विद्यालय परिसरमा पर्खिएको र शिक्षिका देखिएपछि उनीमाथि आक्रमण गरेको देखिएको सञ्चारमाध्यमले जनाएका छन्।
शिक्षिकाको चिच्याहट सुनेपछि विद्यालयका प्रशासक तथा कर्मचारी घटनास्थलतर्फ पुगेका थिए। तर, आक्रमणकारीले उनीहरूलाई समेत धम्क्याएपछि घटनास्थलबाट फरार भएको बताइएको छ।
घटनापछि विद्यालयमा रहेका विद्यार्थी, अभिभावक तथा स्थानीय बासिन्दामा त्रास फैलिएको छ। प्रहरीले हत्या मुद्दा दर्ता गरी सीसीटीभी फुटेजलगायतका प्रमाणका आधारमा घटनामा संलग्न व्यक्तिको पहिचान तथा खोजी भइरहेको जनाएको छ।
प्रहरीले घटनाको कारण र हत्यामा संलग्न व्यक्तिबारे थप अनुसन्धान जारी राखेको बताएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





