स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ
वीरगन्ज, २५ साउन
पर्साको वीरगन्ज महानगरपालिका–१० आदर्शनगरबाट स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँ नगदसहित चार जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार साँझ करिब ६ः३० बजे आदर्शनगरमा प्रदेश २–०३–००३ प ७२१५ नम्बरको कालो सुपर स्प्लेन्डर र ना.५७ प ५१८२ नम्बरको निलो एफजेड मोटरसाइकल रोकेर खानतलासी गर्दा मोटरसाइकलमा सवार चार जनाको साथबाट उक्त रकम बरामद भएको हो।
पक्राउ पर्नेमा भारत बिहारको सीतामढी जिल्ला, डुमरा थाना–६ का २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका–१ का ३२ वर्षीय उपेन्द्र साह, सोही स्थानका २६ वर्षीय सागरकुमार सर्राफ र पर्साको विन्दवासिनी गाउँपालिका–१ झौवागुठीका २५ वर्षीय राहुलकुमार गुप्ता रहेका छन्।
प्रहरीका अनुसार सुरज कर्णको साथबाट १ लाख रुपैयाँ, उपेन्द्र साहको साथबाट १८ लाख १६ हजार रुपैयाँ, सागरकुमार सर्राफको साथबाट १८ लाख ३४ हजार रुपैयाँ र राहुलकुमार गुप्ताको साथबाट १६ लाख रुपैयाँ बरामद भएको हो।
बरामद रकममा १ हजार दरका ४ हजार ५ थान नोटबाट ४० लाख ५ हजार रुपैयाँ, ५ सय दरका २ हजार ३५३ थान नोटबाट ११ लाख ७६ हजार ५०० रुपैयाँ, १ सय दरका ६४३ थान नोटबाट ६४ हजार ३०० रुपैयाँ र ५० दरका ८४ थान नोटबाट ४ हजार २०० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
बरामद नगदसहित चारै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





