प्रहरीको नाममा एक रुपैयाँ असुले पनि छोड्दिनँ’ — एसपी पवनकुमार भट्टराई
पर्सा प्रहरी प्रमुख एसपी पवनकुमार भट्टराईले प्रहरीको नाममा सेवाग्राहीबाट एक रुपैयाँसमेत असुल्ने बिचौलियालाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्। उनले नागरिकलाई बिचौलियाको भर नपरी सिधै प्रहरी कार्यालय वा आफू समक्ष गुनासो राख्न आग्रह गरेका छन्।
वीरगञ्ज, २६ साउन
पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले प्रहरीबाट प्रदान गरिने कुनै पनि सेवाका लागि सेवाग्राहीले एक पैसा पनि तिर्नु नपर्ने स्पष्ट पारेका छन्।
प्रहरीको नाममा बिचौलियाले सेवाग्राहीबाट रकम असुल्ने गरेको पाइएमा तत्काल पक्राउ गरी कानुनबमोजिम कडा कारबाही गरिने एसपी भट्टराईले चेतावनी दिएका छन्। उनले प्रहरी सेवाका नाममा हुने कुनै पनि प्रकारको आर्थिक लेनदेनप्रति शून्य सहनशीलताको नीति अपनाइने बताएका छन्।
‘प्रहरीको नाममा एक रुपैयाँ असुले पनि छोड्दिनँ’ भन्दै एसपी भट्टराईले प्रहरीको सेवा लिन आउने नागरिकलाई बिचौलियाको भर नपर्न आग्रह गरेका छन्। सेवाग्राही तथा पीडितले आफ्ना समस्या र गुनासो सिधै सम्बन्धित प्रहरी कार्यालय वा आफू समक्ष राख्न सक्ने उनले बताएका छन्।
अपराधी जोसुकै भए पनि कानुनी दायराबाट उम्किन नदिने प्रतिबद्धता व्यक्त गर्दै एसपी भट्टराईले पर्सा प्रहरीमा अपराधका लागि कुनै छुट नरहेको स्पष्ट सन्देश दिएका छन्।
पीडितलाई न्याय दिलाउने र दोषीलाई कानुनको कठघरामा उभ्याउने आफ्नो प्राथमिकता रहेको बताउँदै उनले प्रहरी सेवा पारदर्शी, निष्पक्ष र नागरिकमैत्री बनाउन आफू प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





