सत्य, निष्पक्ष र विश्वसनीय

घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा पहिरो, एक जना बेपत्ता र एक घाइते

न्युज डेस्क
२०८३ श्रावण २६, मंगलवार ०७:२१

म्याग्दी, २६ साउन
अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा मंगलबार बिहान पहिरो खस्दा एक जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन्।
विद्युत्गृहमा कार्यरत अन्नपूर्ण गाउँपालिका–६ का ५५ वर्षीय दीपक बरुवाल पहिरोले पुरिएपछि बेपत्ता भएका हुन्। घटनामा गौरीगंगा नगरपालिका–५ का ३१ वर्षीय सुरेन्द्र विक घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार विद्युत्गृहभन्दा माथिल्लो भागको पहाडबाट ढुंगासहितको सुक्खा पहिरो खसेर विद्युत्गृह पुरिएको हो। पहिरोमा बेपत्ता बरुवालको खोजी कार्य भइरहेको छ।
प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि तथा स्थानीयवासीको टोलीले बेपत्ता बरुवालको खोजी गरिरहेको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए।
घाइते विकलाई घटनास्थलबाट उद्धार गरी प्राथमिक उपचारपछि थप उपचारका लागि प्रदेश अस्पताल बेनी पठाइएको प्रहरीले जनाएको छ।
पहिरोका कारण म्याग्दी हाइड्रोपावर प्रवर्द्धक रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहका उपकरणमा क्षति पुगेको छ। उपकरणमा क्षति पुगेपछि आयोजनाको विद्युत् उत्पादनसमेत बन्द भएको जनाइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?