सत्य, निष्पक्ष र विश्वसनीय

नेपाल–भारतमा दृश्य नभएकाले सुतक तथा धार्मिक नियम मान्नु नपर्ने: . पुरुषोत्तम दुबे

न्युज डेस्क
२०८३ श्रावण २६, मंगलवार ०९:३५

वीरगञ्ज २६ साउन
नेपाल र भारतमा ग्रहणको कुनै पनि प्रकारको छाया वा दृष्टि नपर्ने भएकाले यहाँ यसको कुनै ज्योतिषीय वा धार्मिक प्रभाव नपर्ने ज्योतिष सम्राट डा. पुरुषोत्तम दुबेले स्पष्ट पार्नुभएको छ।
​अन्तर्राष्ट्रिय खगोलीय गणनाअनुसार आगामी सूर्यग्रहण आर्कटिक, ग्रिनल्याण्ड, आइसल्याण्ड, स्पेन तथा युरोप र अमेरिकाका केही भूभागमा मात्र दृश्य हुनेछ। नेपाल, भारतलगायत एसियाली मुलुकहरूबाट यो ग्रहण पूर्ण वा आंशिक कुनै पनि रूपमा देखिने छैन।

​शास्त्र र सनातन ज्योतिष परम्पराको सिद्धान्तअनुसार “यद् दृश्यं तद् फलम्” अर्थात् जुन ठाउँमा ग्रहण देखिँदैन, त्यहाँ यसको कुनै धार्मिक वा शास्त्रीय प्रभाव रहँदैन। त्यसैले नेपाल र भारतका नागरिकका लागि सुतक काल मान्नुपर्ने, पूजापाठ रोक्नुपर्ने, वा भोजन-दिनचर्यामा कुनै प्रतिबन्ध लगाउनुपर्ने आवश्यकता नरहेको डा. दुबेको भनाइ छ।

​“विदेशमा वा अन्य गोलार्धमा ग्रहण लाग्दैमा नेपाल र भारतका जनमानसमा त्यसको असर पर्दैन,” डा. दुबेले भन्नुभयो, “त्यसैले भ्रामक प्रचार, सामाजिक सञ्जालका हल्ला र अनावश्यक डरबाट मुक्त भई आफ्ना नित्य कर्महरू निर्धक्क भएर सञ्चालन गर्नुहोस्।”

​उहाँले सर्वसाधारणलाई अन्धविश्वासको पछि नलागी प्रमाणित पञ्चाङ्ग, खगोलीय तथ्य र वैज्ञानिक दृष्टिकोणमा मात्र विश्वास गर्न पुनः अपिल गर्नुभएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?