सत्य, निष्पक्ष र विश्वसनीय

कोरला नाकाबाट शङ्कास्पद माल बोकेका आठ कन्टेनर नियन्त्रणमा

न्युज डेस्क
२०८३ श्रावण ३१, आईतवार ११:२५

काठमाडौं, ३१ साउन
नेपाल–चीन उत्तरी कोरला नाकाबाट लोमान्थाङ हुँदै शङ्कास्पद रूपमा मालवस्तु ओसारपोसार गरेको आशङ्कामा प्रहरीले आठ वटा मालवाहक कन्टेनर नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार गोप्य सूचनाका आधारमा शुक्रबार जोमसोम तथा जोमसोम–कोरला सडकखण्डका विभिन्न स्थानबाट ती कन्टेनर नियन्त्रणमा लिइएको हो। प्रहरीले कोरलाबाट मालवस्तु लिएर भन्सार कार्यालयतर्फ झर्दै गरेका कन्टेनरहरूको कागजपत्र जाँच तथा चालकसँग सोधपुछ गर्दा भन्सार यार्डमा आवश्यक जाँच नगरी सिधै सिल लगाएर ल्याइएको पाइएको जनाएको छ।

नियन्त्रणमा लिइएका कन्टेनरमा बा प्र ०१–००५ ख २२४५, बा प्र ०१–००६ ख ६२७३, ना ३ ख ७१६०, ना ६ ख ४७४१, को १ ख ५६९६, बा प्र ०१–००६ ख २२४८, ना ६ ख २०२२ र बा प्र ०१–००६ ख ६६११ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार मनसुनका कारण विपद् जोखिम न्यूनीकरणका लागि कोरला सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको अवस्थामा ती कन्टेनरहरू नियमविपरीत शङ्कास्पद रूपमा सञ्चालन भइरहेको पाइएपछि नियन्त्रणमा लिइएको हो।

प्रहरीले कन्टेनरमा अवैध मालवस्तु हुनसक्ने बलियो आशङ्का देखिएकाले आवश्यक अनुसन्धान र कारबाहीका लागि प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १० जनाको सुरक्षा टोलीसहित राजस्व अनुसन्धान विभाग, हरिहर भवन ललितपुर पठाइएको जनाएको छ।

गत वर्ष भदौ ३१ गतेदेखि कोरला नाका पूर्णरूपमा सञ्चालनमा आएयता उक्त नाकाबाट अवैध रूपमा मालवस्तु ओसारपोसार गर्ने प्रयासका घटना पटकपटक सार्वजनिक हुँदै आएका छन्। यसअघि पनि कोरला नाकाबाट ठूलो परिमाणमा विद्युतीय चुरोट (भेप) बरामद भएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?