पूर्वराजा ज्ञानेन्द्रद्वारा बाढीपीडितको उद्धार र राहतमा जुट्न अपिल
काठमाडौं, १० भदौ
पूर्वराजा ज्ञानेन्द्र शाहले चीनको स्वशासित क्षेत्र तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढीका कारण नेपालका विभिन्न जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, खोजी, राहत तथा उपचारका कार्यलाई प्रभावकारी बनाउन सबै पक्षलाई आग्रह गरेका छन्।
निर्मल निवासस्थित संवाद सचिवालयले बुधबार जारी गरेको देशवासीका नाममा सन्देशमा बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीका जलतटीय क्षेत्रका बजार तथा बस्तीमा ठूलो क्षति पुगेको उल्लेख गरिएको छ।
बाढीका कारण बाटोघाटो, पुलपुलेसा, विद्युत् आयोजना, खेतीपाती लगायतका भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको भन्दै पूर्वराजा शाहले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिक र सुरक्षाकर्मीसहितको खोजी कार्यलाई तत्काल तीव्रता दिन आग्रह गरेका छन्।
विपत्तिको यस दुःखद घडीमा खोजी, उद्धार, राहत र उपचारका कार्यमा कुनै कमी हुन नदिन सम्बन्धित सबै निकायलाई आग्रह गर्दै उनले सरकार, सुरक्षा निकाय, राष्ट्रसेवक, स्थानीय तह, सामाजिक संघसंस्था तथा आम नागरिकलाई आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न अपिल गरेका छन्।
पूर्वराजा शाहले विपत्तिमा परेकाहरूको उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन्। प्राकृतिक विपत्तिको असर सीमापारिसमेत पर्ने भएकाले छुट्टाछुट्टै प्रयासभन्दा त्रिदेशीय संयुक्त प्रयासमार्फत यस्ता प्रकोपबाट हुने क्षति न्यूनीकरण गर्न सकिने उनको भनाइ छ।
सीमासँग जोडिएका छिमेकी मुलुकमा हुने प्राकृतिक विपत्तिले अर्को देशलाई समेत प्रत्यक्ष प्रभाव पार्ने भएकाले यस विषयलाई सबैले गम्भीरतापूर्वक मनन गर्नुपर्ने सन्देशमा उल्लेख छ।
सन्देशको अन्त्यमा पूर्वराजा शाहले ‘श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्’ भन्दै ‘जय नेपाल’ उल्लेख गरेका छन्।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





