राप्रपा पर्साको अधिवेशनको मिति र स्थान तय
वीरगञ्ज, १० भदौ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्सा जिल्ला कार्यसमितिले जिल्लाका विभिन्न स्थानीय तह, निर्वाचन क्षेत्र तथा प्रदेश समितिका अधिवेशनको मिति र स्थान तय गरेको छ।
बुधबार बसेको जिल्ला कार्यसमितिको बैठकले वीरगञ्ज महानगरपालिका तथा निर्वाचन क्षेत्र नं. १ र २ अन्तर्गतका प्रदेश ‘क’ र ‘ख’ लगायतका अधिवेशन आगामी भदौ १५ गते वीरगञ्जस्थित सोल्टी गार्डेन एण्ड पार्टी प्यालेसमा गर्ने निर्णय गरेको हो।
त्यस्तै, पोखरिया नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका तथा निर्वाचन क्षेत्र नं. ३ अन्तर्गतका प्रदेश ‘क’ र ‘ख’ लगायतका अधिवेशन भदौ १७ गते श्रीपुर पाँचगावामा आयोजना गर्ने निर्णय गरिएको छ।
धोबिनी गाउँपालिका तथा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गतका प्रदेश ‘क’ र ‘ख’ लगायतका अधिवेशन भने भदौ १९ गते लङ्गडीमा गर्ने तय भएको जिल्ला कार्यसमितिले जनाएको छ।
यसैगरी, राप्रपा पर्साको जिल्ला अधिवेशन भदौ २४ गते बिहान ११ः३० बजे वीरगञ्जस्थित सोल्टी गार्डेन एण्ड पार्टी प्यालेसमा आयोजना गरिने भएको छ।
बैठकले तोकिएको मिति र स्थानमा अधिवेशन सम्पन्न गर्न सम्बन्धित तह तथा क्षेत्रका पार्टी नेता–कार्यकर्तालाई आवश्यक तयारी र समन्वय गर्न आग्रह गरेको छ। अधिवेशनमार्फत जिल्लामा पार्टीको संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य लिइएको राप्रपा पर्साले जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





