राष्ट्रपति पौडेलद्वारा भोटेकोशी बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन
काठमाडौं, २२ भदौ
राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन्।
सोमबार नुवाकोट पुगेका राष्ट्रपति पौडेलले जिल्लाका सुरक्षा निकायका प्रमुख तथा अन्य सरोकारवालासँग भेट गरी बाढीपछिको वर्तमान अवस्थाबारे जानकारी लिएका हुन्।

राष्ट्रपतिको सचिवालयका अनुसार उनले खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालन, प्रभावितको पुनर्स्थापना लगायतका विषयमा जानकारी लिएका थिए।
राष्ट्रपति पौडेलले विदुर नगरपालिका–२ बट्टारस्थित कभर्ड हलमा सञ्चालित होल्डिङ सेन्टरको अनुगमनसमेत गरेका छन्। सो क्रममा उनले बाढीबाट प्रभावित स्थानीय बासिन्दासँग अन्तरक्रिया गर्दै उनीहरूको अवस्था र समस्याबारे जानकारी लिएका थिए।
नुवाकोटका बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि राष्ट्रपति पौडेल अहिले रसुवातर्फ प्रस्थान गरेका छन्।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





