कांग्रेसद्वारा भोटेकोशी बाढीपीडितका लागि एक करोड सहयोग
काठमाडौं, २२ भदौ
नेपाली कांग्रेसले भोटेकोशी बाढी प्रभावित नागरिकका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ।
कांग्रेसका महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको टोलीले सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर उक्त रकमको चेक हस्तान्तरण गरेको हो। पार्टीका नेता तथा कार्यकर्ताबाट संकलन गरिएको रकम एकमुष्ट रूपमा सरकारलाई हस्तान्तरण गरिएको कांग्रेसले जनाएको छ।
चेक हस्तान्तरण कार्यक्रममा महामन्त्री पौडेलसँगै पार्टी कोषाध्यक्ष उमेश श्रेष्ठ, प्रवक्ता देवराज चालिसे, प्रमुख सचेतक वासना थापा तथा रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यलगायत नेताहरू सहभागी थिए।
विपद्को घडीमा बाढीपहिरो प्रभावित परिवारलाई तत्काल राहत, स्वास्थ्योपचार तथा सुरक्षित आवासको व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले रकम उपलब्ध गराइएको महामन्त्री पौडेलले बताए। उनले संकटको अवस्थामा नेपाली कांग्रेस सम्पूर्ण बाढीपीडित नागरिकको साथमा रहेको उल्लेख गरे।
महामन्त्री पौडेलले सुरुङमार्ग लगायत विभिन्न स्थानमा फसेका नागरिकको उद्धारमा भइरहेको ढिलाइप्रति चिन्ता व्यक्त गर्दै उद्धार कार्यलाई तत्काल तीव्रता दिन सरकारको ध्यानाकर्षण गराए।
उनले त्रिशूली र भोटेकोशी आसपासका प्रभावित बासिन्दाको उद्धार तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलाई युद्धस्तरमा अघि बढाउन सरकारसँग माग गरे। साथै, राहत वितरणलाई पारदर्शी बनाउन र विपद् व्यवस्थापनलाई थप चुस्त तथा प्रभावकारी बनाउन पनि उनले आग्रह गरे।
बेपत्ताको खोजी, विस्थापितको दीर्घकालीन पुनर्स्थापना तथा विपद् व्यवस्थापनका क्षेत्रमा सरकारलाई आवश्यक पर्ने हरेक सहयोग गर्न पार्टी तयार रहेको प्रतिबद्धता समेत पौडेलले व्यक्त गरे।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





