१६२ किलोभन्दा बढी गाँजासहित दुई चालक पक्राउ
मकवानपुर, २३ भदौ
मकवानपुरको मनहरी गाउँपालिका–९ भाबरबाट प्रहरीले १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालकलाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलीले सोमबार राति करिब २ः४५ बजे भाबरस्थित भित्री सडकखण्डमा सवारीसाधन चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो।
भाबरबाट खरङ्गातर्फ आउँदै गरेको बा.प्र.०१–०२५ च ०८७७ नम्बरको कार र ग २ च ६१५ नम्बरको पिकअपलाई प्रहरीले रोक्न खोज्दा पिकअप भाग्न खोजेको थियो। प्रहरीले पिकअपलाई नियन्त्रणमा लिएर कारसमेत जाँच गर्दा कारको सिटमा प्लास्टिकले बेरेर लुकाइराखिएको १३ पोकामा १६२ किलो ७९४ ग्राम गाँजा फेला परेको हो।
पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका–५ धोबाहा निवासी ५६ वर्षीय देव नारायण महतो र भरतपुर महानगरपालिका–२४ निवासी ४८ वर्षीय टेकबहादुर दोङ रहेका छन्। महतो कार चालक हुन् भने दोङ पिकअप चालक हुन्।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा पिकअप चालक दोङले स्कर्टिङ गर्दै कारलाई अगाडि ल्याएको खुलेको छ। प्रहरीले गाँजा, दुवै चालक र दुवै सवारीसाधन नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मनहरीमा ल्याएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





