स्रोत नखुलेको १३ लाख ७५ हजार रुपैयाँसहित हुण्डी कारोबारमा संलग्न युवक पक्राउ
काठमाडौं, २९ भदौ
स्रोत नखुलेको ठूलो रकमसहित हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार भदौ २७ गते दिउँसो करिब ३ः३० बजे काठमाडौं महानगरपालिका–२६ स्थित टेम्पल सञ्चयकोष सडकखण्डमा प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको हो।
केशरमहलबाट भीआईपी चोकतर्फ जाँदै गरेको बा.१७ प. २६४४ नम्बरको स्कुटर चेकजाँच गर्दा काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–३ घर भई हाल काठमाडौं टोखामा बस्दै आएका २० वर्षीय युवराज घतानीको साथबाट स्रोत नखुलेको नेपाली रुपैयाँ १३ लाख ७५ हजार बरामद भएको प्रहरीले जनाएको छ।
बरामद रकमसहित घतानीलाई नियन्त्रणमा लिएर हुण्डी कारोबारसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





