सत्य, निष्पक्ष र विश्वसनीय

सिडिओ कार्यालयकै अगाडि चर्काे डिजे, जिम्मेवारीबाट पन्छिँदै प्रहरी प्रशासन

न्युज डेस्क
२०८३ जेष्ठ २३, शनिबार १८:२४

वीरगंज । मधेस प्रदेश सरकारले उच्च आवाजमा डिजे बजाउन निषेध गरेको आदेशलाई सर्वसाधारण र स्थानीय प्रहरी प्रशासन दुवैले लत्याएका छन् ।
वीरगंजस्थित जिल्ला प्रशासन कार्यालय (सिडिओ कार्यालय) कै अगाडि खुल्लामखुल्ला चर्काे आवाजमा डिजे बजाउँदासमेत जिम्मेवार निकाय मौन बसेपछि स्थानीय आक्रोशित बनेका छन।


शुक्रवार साँझ वीरगंजको सिडिओ कार्यालय अगाडि रहेको विद्युत ट्रान्सफर्मर अचानक पड्किएको थियो। ट्रान्सफर्मर पड्किँदा केही बेर सो क्षेत्रको वातावरण भयभीत र अशान्त बनेको थियो। तर, त्यसको लगत्तै सोही क्षेत्र भएर निस्किएको एक वैवाहिक लस्करले ठूलो आवाजमा डिजे बजाइरहेको थियो।


साँझको समयमा मानिसहरूको हुलसहित बजाइएको उक्त चर्काे डिजेको आवाजका कारण आसपासका बयोवृद्ध तथा मुटुको समस्या भएका बिरामीहरू निकै मर्कामा परेका थिए। ट्रान्सफर्मर पड्किएर आत्तिएका स्थानीय बासिन्दा चर्काे ध्वनिका कारण थप प्रताडित बन्न पुगे।


सिडिओ कार्यालयकै मुख्य ढोका अगाडि सुरक्षाकर्मीहरूको उपस्थिति हुँदाहुँदै पनि डिजे बजाउने टोलीलाई कुनै रोकटोक नगरिएपछि प्रमुख जिल्ला अधिकारी (सिडिओ) भोला दाहालको ध्यानाकर्षण गराएका थिए। सुरक्षाकर्मीले मधेस सरकारको आदेश कार्यान्वयन गराउन किन चासो नदेखाएको भनी गुनासो राख्दा सिडिओ दाहालले गैरजिम्मेवार जवाफ दिएका छन।


प्रमुख जिल्ला अधिकारी दाहालले उक्त विषयमा जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख प्रहरी उपरीक्षक
(एसपी) लाई भन्नू भन्दै आफ्नो जिम्मेवारीबाट पन्छिने प्रयास गरे। शान्ति सुरक्षा र सरकारी आदेश पालना गराउने जिल्लाको मुख्य कमाण्डरले नै यसरी कुरा पन्छाएपछि स्थानीयले प्रशासनको नियतमाथि प्रश्न उठाएका छन।


पर्सामा सिडिओ ठूलो कि एसपी?
सिडिओ दाहालको यस्तो जवाफपछि वीरगंजका स्थानीयवासीहरूले सार्वजनिक स्थलहरूमा आक्रोश पोख्न थालेका छन। स्थानीयहरूले पर्सा जिल्लामा सिडिओ ठूलो कि एसपी ठूलो? भन्दै कानुनी मर्यादा र मर्यादाक्रममाथि नै व्यङ्गय गर्न थालेका छन।


मधेस सरकारले ध्वनि प्रदूषण नियन्त्रण गर्न र सामाजिक सद्भाव कायम राख्न डिजेमा प्रतिबन्ध लगाउने निर्णय गरे पनि पर्साको स्थानीय प्रशासन र जनता कसैले पनि यसको टेरपुच्छर लगाएका छैनन। नियम कानुन कार्यान्वयन गराउने निकाय नै लाचार बनेपछि वीरगंजमा ध्वनि प्रदूषणको आतङ्क झन् बढेर गएको छ।


अझैं पनि वीरगंजमा अबेर रातिसम्म डिजे बजाएर वातावरण अशान्त बनाउने गरिएको छ, चर्को आवाजका कारण मुटुरोगीहरु निकै ब्याकुल भइरहेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?