बिरगञ्जमा खाद्य स्वच्छतामाथि प्रश्नचिन्ह! मोबाइल फुड ल्याबको अनुगमनमा अधिकांश होटल र मिठाइ पसल मापदण्डविपरीत भेटिए
वीरगञ्ज, २४ जेठ
उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साले यही जेष्ठ १७ गते जारी गरेको विज्ञप्तिपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य स्वच्छता कायम गराउने उद्देश्यले “मोबाइल फुड ल्याब भ्यान” पर्सा र बारामा परिचालन गरेको छ। विभागको टोलीले वीरगञ्ज, अमलेखगञ्ज, निजगढ तथा कलैयाका विभिन्न होटल, रेस्टुरेन्ट र मिठाई पसलमा अनुगमन गर्दा अधिकांश व्यवसायले न्यूनतम खाद्य स्वच्छता मापदण्डसमेत पालना नगरेको पाइएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगञ्जका कार्यालय प्रमुख सुरेश सिंहको नेतृत्वमा खटिएको टोलीले होटल तथा मिठाई पसलहरूमा किचेनको सरसफाइ, खाद्य सामग्रीको भण्डारण, प्रयोग गरिने तेलको गुणस्तर, कामदारहरूको व्यक्तिगत सरसफाइ, पकाएको र नपकाएको सामग्री छुट्टाछुट्टै राखिएको अवस्था, डस्टविन व्यवस्थापन तथा खाद्य सुरक्षा मापदण्डबारे अनुगमन गरेको थियो।
उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय सदस्य अजित भुजेलले वीरगञ्जका अधिकांश होटल तथा मिठाई पसलहरूमा खाद्य स्वच्छताको अवस्था अत्यन्त कमजोर रहेको बताउनुभयो। उहाँका अनुसार गत वर्ष पनि विभागले होटल तथा रेस्टुरेन्टहरूको खाद्य स्वच्छता र गुणस्तरका आधारमा स्तरियकरण (लोगो वितरण तथा नवीकरण) गरेको भए पनि अहिले पनि अवस्था सुधार हुन सकेको छैन।
महावीर चौकस्थित अनमोल स्विट्समा गरिएको अनुगमनका क्रममा किचेनको अवस्था सन्तोषजनक नरहेको पाइएको थियो। टोलीले सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिँदै दुई पटकभन्दा बढी तताइएको करिब २ लिटर तेलको TPM २५ पुगेको पाइएकाले उक्त तेल नष्ट गरेको थियो। साथै पकाउने स्थान र भाँडा माझ्ने स्थानबीच प्लास्टिक कभर भएको पर्दा राख्न निर्देशन दिइएको थियो।
त्यसैगरी होटल मकालु प्रालि मा सरसफाइ कमजोर रहेको, ढक्कन नभएको डस्टविन प्रयोग गरिएको, मसलाका भाँडा खुला राखिएको तथा शाकाहारी र मांसाहारी परिकारका लागि छुट्टाछुट्टै चपिङ बोर्ड प्रयोग नगरेको पाइएको थियो। विभागका खाद्य निरीक्षक अधिकृत आकाश काफ्ले का अनुसार उक्त होटलमा प्रयोग भइरहेको करिब ४ लिटर तेलको TPM २८ पुगेकाले तत्काल नष्ट गरिएको थियो।
होटल पुजन प्रालि मा पनि खाद्य स्वच्छताका मापदण्ड पालना नभएको पाइएको थियो। खुला डस्टविन प्रयोग, एउटै चपिङ बोर्डमा शाकाहारी र मांसाहारी सामग्री काट्ने, फोहोर किचेन तथा अत्यधिक प्रयोग गरिएको तेल भेटिएपछि टोलीले ७ दिनभित्र सुधार गर्न निर्देशन दिएको थियो।
आदर्शनगरस्थित मेजवानी स्विट्स मा समेत सरसफाइ अभाव, खुला डस्टविन प्रयोग तथा गुणस्तरहीन तेल प्रयोग भएको पाइएपछि टोलीले तत्काल सुधार गर्न चेतावनी दिएको थियो।
उपभोक्ता अधिकारकर्मी प्रकाश शाहले नियमनकारी निकायले पटक–पटक सचेत गराउँदा पनि व्यवसायीहरूले अटेर गर्दै आएको बताउनुभयो। “हरेक अनुगमनपछि सुधार गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा लागू गरिएको देखिँदैन,” उहाँले भन्नुभयो, “यस्ता होटल तथा मिठाई पसलको स्तर घटाएर कानुनी कारबाही अगाडि बढाउन आवश्यक छ।”
अनुगमन टोलीमा विभागका केमिस्ट पवन कुमार कुर्मी, खाद्य निरीक्षक जगत प्रकाश चौधरी, श्रवण साह, उपभोक्ता अधिकारकर्मी प्रकाश कुमार शाह तथा पत्रकार अभिलाष गुप्ता लगायतको सहभागिता रहेको थियो।
यसअघि शुक्रबार विभागको मोबाइल खाद्य ल्याब भ्यानले अमलेखगञ्ज, निजगढ तथा बाराका विभिन्न होटल तथा रेस्टुरेन्टहरूमा पनि अनुगमन गरेको थियो।
अमलेखगञ्जस्थित जर्गा होटल, मेची होटल, कल्पवृक्ष होटल, होटल लम्साल तथा निजगढका होटल रुद्राक्ष, चंकि रेस्टुरेन्ट, हाईवे फुड ल्यान्ड रेस्टुरेन्ट र होटल राजमार्ग मा गरिएको अनुगमनका क्रममा पनि सरसफाइ कमजोर, खुला डस्टविन प्रयोग तथा अत्यधिक पटक तताइएको तेल प्रयोग गरिएको पाइएको थियो ।
शनिबार कलैयास्थित न्यु कृष्ण स्विट्स, सिद्धु सिद्धार्थ स्विट्स, माँ अन्नापूर्ण स्विट्स तथा केशर स्विट्स मा गरिएको अनुगमनका क्रममा पनि अधिकांश पसलमा कामदारले हेडनेट प्रयोग नगरेको, तेल धेरै पटक तताइएको तथा खाद्य सामग्री असुरक्षित ढंगले राखिएको पाइएको बारा उपभोक्ता अधिकारकर्मी अरुण खनाल ले जानकारी दिनुभयो।
उपभोक्ताहरूले खाद्य स्वच्छता र गुणस्तरको मापदण्ड पालना नगर्ने होटल, रेस्टुरेन्ट तथा मिठाई पसलमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन्। बारम्बार चेतावनी दिँदा पनि अटेर गर्ने व्यवसायीहरूलाई जरिवाना, स्तर घटाउने तथा आवश्यक परे सञ्चालन अनुमति नै खारेज गर्नुपर्ने आम उपभोक्ताको भनाइ रहेको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




