लगातार दोस्रो उपाधि जित्ने लक्ष्यमा लुम्बिनी, बदला लिने दाउमा सुदूरपश्चिम
काठमाडौँ, ५ मंसिर
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका लागि आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनल खेल अपराह्न ५ बजे सुरु हुनेछ ।
लुम्बिनी लगातार दोस्रोपटक उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रँदैछ । गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनीले उपाधि जितेको थियो । यसपटक पनि सुदूरपश्चिमलाई हराउँदै उपाधि रक्षा गर्ने उसको योजना छ ।
यता, सुदूरपश्चिम भने पहिलोपटक एनपीएलको उपाधि जित्ने लक्ष्यमा छ । पहिलो संस्करणमा जनकपुर बोल्ट्ससँग पराजित भएको सुदूरपश्चिम गत संस्करणको फाइनलमा पनि लुम्बिनीसँग पराजित भएको थियो ।

हालसम्म एनपीएलमा यी दुई टोलीबीच पाँचपटक प्रतिस्पर्धा भएको छ । जसमा लुम्बिनीले तीन खेल जित्दा सुदूरपश्चिमले दुई खेलमा जित निकालेको छ ।
यसअघिको फाइनलमा पराजित सुदूरपश्चिम यसपटक बदला लिँदै पहिलो उपाधि उचाल्ने दाउमा छ भने लुम्बिनी लगातार दोस्रोपटक च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ । त्यसैले आजको फाइनल प्रतिस्पर्धालाई निकै रोमाञ्चक रूपमा हेरिएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





