एनपीएल फाइनलको टिकटमा विवाद, टिकट नपाएपछि दर्शक सडकमा
काठमाडौं, ५ मंसिर
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलको टिकट वितरण पारदर्शी नभएको भन्दै असन्तुष्ट दर्शकहरू प्रदर्शनमा उत्रिएका छन्।
शुक्रबार दिउँसो १ बजेदेखि टिकट बिक्री सुरु हुने भनिए पनि बिक्री खुल्नुअघि नै अनलाइनमा टिकट ‘सोल्ड आउट’ देखिएपछि दर्शकहरू आक्रोशित भएका हुन्।

यसअघि पनि दर्शकहरूले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको गेटमा पुगेर प्रदर्शन गरेका थिए। शनिबार पनि उनीहरूले ‘कालोबजारी बन्द गर’ लगायतका नारा लगाउँदै नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीविरुद्ध नाराबाजी गरेका छन्।
टिकट बिक्री सुरु नहुँदै ‘सोल्ड आउट’ देखिनु र बिक्री खुल्ने समयमा वेबसाइटमा प्रवेश गरेका प्रयोगकर्ताले समेत टिकट खरिद गर्न नसक्नुले टिकट वितरण प्रक्रियामाथि प्रश्न उठेको छ।
यस विषयलाई लिएर सामाजिक सञ्जालमा समेत चर्को असन्तुष्टि व्यक्त भइरहेको छ। टिकट वितरणमा पारदर्शिता कायम गर्न नसकेको भन्दै दर्शकहरूले विरोध जनाएका हुन्।
एनपीएलको तेस्रो संस्करणको फाइनल खेल आज साँझ ५ बजेदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ। उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्।
फाइनल खेल हेर्न उत्साहित दर्शकहरूले टिकट नपाएपछि टिकट व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै प्रदर्शन गरेका हुन्।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





