श्री बिन्दवासिनी माई टी–२० नकआउट क्रिकेट प्रतियोगिता उद्घाटन, युवा नेता सुधिर पटेलद्वारा शुभारम्भ
वीरगञ्ज, ६ असार
वीरगञ्ज महानगरपालिका–१९ मा आयोजित श्री बिन्दवासिनी माई टी–२० नकआउट क्रिकेट प्रतियोगिता भव्य रूपमा उद्घाटन गरिएको छ। प्रतियोगिताको उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महाधिवेशन प्रतिनिधि तथा युवा नेता सुधिर पटेल प्रमुख अतिथिका रूपमा सहभागी भई प्रतियोगिताको औपचारिक शुभारम्भ गरेका हुन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि पटेलले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै आयोजक श्री बिन्दवासिनी माई युवा क्लब, वीरगञ्ज–१९ लाई विशेष धन्यवाद तथा बधाई दिएका छन्। उनले खेलकुदले युवाहरूलाई अनुशासित, स्वस्थ र जिम्मेवार नागरिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यस्ता प्रतियोगिताले युवाबीच एकता, आपसी सद्भाव र सामाजिक रूपान्तरणमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरे।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वीरगञ्ज महानगर अध्यक्ष दिपराज पटेल विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए। उनले स्थानीय स्तरमा खेलकुद गतिविधिको विस्तारले प्रतिभाशाली खेलाडी उत्पादन गर्न मद्दत पुग्ने बताउँदै आयोजक टोलीको प्रयासको प्रशंसा गरे।
प्रतियोगितामा विभिन्न टोलीहरूको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगितामार्फत स्थानीय खेल प्रतिभाको पहिचान र खेलकुद संस्कृतिको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ। उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, समाजसेवी, खेलप्रेमी तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




