जितपुर–सिमरा नगर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वले गर्यो पदभार ग्रहण
बारा, ११ असार
जितपुर–सिमरा नगर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष गजेन्द्रकुमार गुप्तासहित पदाधिकारी तथा सदस्यहरूले सपथ ग्रहण गरी औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। बिहीबार संघको कार्यालयमा आयोजित विशेष समारोहबीच नयाँ नेतृत्वले पदभार सम्हालेको हो।
कार्यक्रम संघका निवर्तमान अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष अशोक टेमानीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपाल तथा वरिष्ठ उद्योगपति एवं पूर्व अध्यक्ष गणेश लाठको विशेष उपस्थिति रहेको थियो।
सपथ ग्रहण गर्ने पदाधिकारीहरूमा अध्यक्ष गजेन्द्रकुमार गुप्ता, वरिष्ठ उपाध्यक्ष शिवजीप्रसाद साह सोनार, वाणिज्य उपाध्यक्ष रामबाबु कलवार, महासचिव प्रकाश गिरी, कोषाध्यक्ष रिना रौनियार पुरी तथा वाणिज्य सचिव रिता कँडेल रहेका छन्।
त्यसैगरी, वाणिज्यतर्फ निर्वाचित सदस्यहरू अमरेन्द्रकुमार साह कलवार, विभा गुप्ता, मुकुन्द रिजाल, बलराम पौडेल, विजयकुमार गुप्ता, नवरत्नप्रसाद कलवार र मनोहरबाबु गुप्ताले समेत सपथ ग्रहण गरी पदभार सम्हालेका छन्। प्रमुख निर्वाचन अधिकृत शरदचन्द्र भट्टराईले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अशोक टेमानीले नवनिर्वाचित नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उद्योगी–व्यवसायीहरूको हकहित संरक्षण र प्रवर्द्धनका लागि संघले अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए। उनले पथलैया–वीरगञ्ज औद्योगिक क्षेत्रमा अवस्थित नेपालको सबैभन्दा ठूलो विशेष आर्थिक क्षेत्र (SEZ) मा लगानी गर्न उद्योगी तथा व्यवसायीहरूलाई आग्रह समेत गरे।
यसैबीच, नवनिर्वाचित समितिले संघमा आबद्ध ९५७ जना सदस्यका लागि एक वर्ष अवधिको एक लाख रुपैयाँ बराबरको दुर्घटना बीमा सुविधा उपलब्ध गराउने घोषणा गरेको छ।
नवनिर्वाचित अध्यक्ष गजेन्द्रकुमार गुप्ताले निजी क्षेत्रलाई आतंकित बनाउने गतिविधिहरूको विषयमा सम्बन्धित सरकारी निकायसँग समन्वय गरी व्यवसायीहरूको सुरक्षा र हितका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले पथलैया–वीरगञ्ज औद्योगिक करिडोरमा रहेका उद्योग तथा व्यवसायीहरूको सम्मान, प्रतिष्ठा र व्यवसायमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने बताए।
“उद्योगी तथा व्यवसायीका समस्या समाधान र निजी क्षेत्रको प्रवर्द्धनका लागि संघ सधैं अग्रसर रहनेछ,” अध्यक्ष गुप्ताले भने।
कार्यक्रममा उद्योगी, व्यवसायी, संघका पूर्व पदाधिकारी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




