सिरहामा स्कुल बसले किच्दा सहचालक र पाँच वर्षीया बालिकाको मृत्यु
काठमाडौं , १६ असार
सिरहामा स्कुल बसले किच्दा उक्त बसका सहचालक र पाँच वर्षीया बालिकाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार सिरहाको लक्ष्मिपुर पतारी गाउँपालिका-२ मा बुधबार अपराह्न करिब ४:१५ बजे उक्त दुर्घटना भएको हो । विद्यार्थीलाई घरमा छोडेर विद्यालयतर्फ फर्कँदै गरेको को १ ख ३५९९ नम्बरको पायोनियर एजुकेसन एकेडेमीको बसबाट बालिकालाई झार्ने क्रममा बस अगाडि बढ्दा उक्त दुर्घटना भएको हो ।
प्रहरीका अनुसार सहचालक लहान नगरपालिका-२२ बस्ने २५ वर्षीय ओमप्रकाश यादव र सोही विद्यालयमा अध्ययनरत सप्तरी बोधेबरसाइन नगरपालिका-८ काचन घर भई हाल मावलीको घर लक्ष्मिपुरपतारी-२ पर्सामा बस्दै आएकी ५ वर्षीया समीक्षा कुमारी साहको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न बस इलाका प्रहरी कार्यालय महेशपुरपतारको नियन्त्रणमा रहेको र फरार रहेका चालकको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




