काममा ढिलाइ गर्ने ठेकेदारलाई लक्षित गर्दै मन्त्री लम्सालको विवादास्पद अभिव्यक्ति विवादमा
काठमाडौं । भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालले नागढुङ्गा–मुग्लिन सडक खण्डको अनुगमनका क्रममा दिएको अभिव्यक्ति विवादमा परेको छ।
सडक निर्माणमा भइरहेको ढिलाइ र अवरोधबारे छलफलका क्रममा बिजुलीको पोल सार्ने जिम्मेवारी पाएको ठेकेदारले काम नगरे “खुट्टा भाँचिदिनुस्” भन्दै मन्त्री लम्सालले आक्रोश व्यक्त गरेका थिए। सडक निर्माणमा ढिलाइ हुँदा सर्वसाधारणले लामो समयदेखि सास्ती खेप्नुपरेको उल्लेख गर्दै उनले लापरवाही कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन्।
अनुगमनका क्रममा मन्त्री लम्सालले सडक आयोजनाको प्रगतिबारे जानकारी लिँदै सम्बन्धित निकायलाई आवश्यक समन्वय र सहजीकरण गर्न निर्देशन दिएका थिए। निर्माण कार्यलाई निर्धारित समयभित्र सम्पन्न गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो।
मन्त्रीको उक्त अभिव्यक्तिपछि सार्वजनिक वृत्त तथा निर्माण व्यवसायीबीच मिश्रित प्रतिक्रिया देखिएको छ। कतिपयले सडक निर्माणमा भइरहेको ढिलाइप्रति मन्त्रीको असन्तुष्टि स्वाभाविक भएको बताएका छन् भने केहीले सार्वजनिक पदमा रहेका व्यक्तिले कानुनी र प्रशासनिक मर्यादा अनुरूप अभिव्यक्ति दिनुपर्ने धारणा राखेका छन्।
यस घटनाले प्रशासनिक मर्यादा, जिम्मेवारी र कानुनी प्रक्रियाको सीमाबारे बहससमेत सिर्जना गरेको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




