आध्यात्मिक जागृतिद्वारा विश्व नव निर्माण अभियानको क्षेत्रीय शुभारम्भ वीरगञ्जमा
वीरगञ्ज, असार १
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा आयोजित “आध्यात्मिक जागृतिद्वारा विश्व नव निर्माण क्षेत्रीय शुभारम्भ समारोह” वीरगञ्जमा भव्य तथा उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ।
समारोहमा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी, धार्मिक अगुवा, महिला प्रतिनिधि, युवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले ब्रह्माकुमारी राजयोग केन्द्रले समाजमा आध्यात्मिक चेतना, नैतिक मूल्य तथा सकारात्मक सोचको विकासका लागि पुर्याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो। उहाँले राजयोग शिक्षाले व्यक्तिलाई आफ्नो कर्तव्यप्रति जिम्मेवार, अनुशासित तथा मानव सेवामा समर्पित बन्न प्रेरित गर्ने बताउनुभयो।
उपप्रमुख आलमले आध्यात्मिक शिक्षाले समाजमा शान्ति, सद्भाव, सहकार्य तथा आपसी भाइचाराको भावना सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै वर्तमान समयमा विश्व मानव समुदायलाई एकताको सूत्रमा बाँध्न यस्ता कार्यक्रम आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
उहाँले वीरगञ्ज महानगरपालिकाको तर्फबाट ब्रह्माकुमारी राजयोग केन्द्रद्वारा सञ्चालन हुने सामाजिक, नैतिक तथा आध्यात्मिक गतिविधिहरूमा आवश्यक सहयोग उपलब्ध गराउन महानगरपालिका सदैव प्रतिबद्ध रहने समेत स्पष्ट पार्नुभयो।
कार्यक्रममा अन्य वक्ताहरूले आध्यात्मिक जागृतिमार्फत सकारात्मक समाज निर्माण, नैतिक संस्कारको प्रवर्द्धन तथा विश्व शान्तिको सन्देश फैलाउन ब्रह्माकुमारी संस्थाले पुर्याउँदै आएको योगदान उल्लेखनीय रहेको बताए।
समारोहमा राजयोग ध्यान, आध्यात्मिक प्रवचन तथा विश्व शान्तिको कामनासहित विशेष सन्देश प्रवाह गरिएको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले मानव जीवनलाई सकारात्मक दिशातर्फ अग्रसर गराउनुका साथै समाजमा शान्ति र सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रम सौहार्दपूर्ण तथा प्रेरणादायी वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।
क्याप्सन : वीरगञ्जमा आयोजित “आध्यात्मिक जागृतिद्वारा विश्व नव निर्माण क्षेत्रीय शुभारम्भ समारोह” लाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम। कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




