सत्य, निष्पक्ष र विश्वसनीय

दाइजोका कारण छोरीको हत्या भएको आरोप, निष्पक्ष छानबिनको माग

न्युज डेस्क
२०८३ असार ७, आईतवार १७:५१

वीरगंज, ७ असार

पाँच महिनाअघि मात्रै विवाह भएकी छोरी खुशबुन खातुनको दाइजोका कारण हत्या गरिएको आरोप लगाउँदै उनका बुबा असरफ अलीले घटनाको निष्पक्ष छानबिन तथा दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

भारतको बिहार राज्य अन्तर्गत मैनाटार प्रखण्डको इनरवा निवासी अलीले आइतबार रिपोर्टर्स क्लब नेपाल वीरगंजद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै छोरीको हत्या दाइजोका कारण भएको दाबी गरेका हुन्।

उनले वीरगंज महानगरपालिका–१३ राधेमाई निवासी ज्वाइँ अरवाज आलम, ससुरा आस महम्मद मियाँ र सासु तैमुल खातुनले मिलेर आफ्नी छोरी खुशबुनको हत्या गरेको आरोप लगाए।

अलीका अनुसार विवाहपछि केटा पक्षले पटक–पटक दाइजोको विषय उठाउँदै खुशबुनलाई मानसिक तथा शारीरिक यातना दिने गरेको थियो। दाइजो पर्याप्त नल्याएको भन्दै अपमानजनक व्यवहार, कुटपिट तथा विभिन्न प्रकारका दबाब निरन्तर दिइने गरेको उनको भनाइ छ। उनले केटा पक्षले आफूलाई ५० लाख रुपैयाँ लिएर छोरीको अन्त विवाह गर्नसमेत दबाब दिएको आरोप लगाए।

असार ३ गते छोरीलाई कुटपिट गरी हत्या गरिएको दाबी गर्दै अलीले घटनामा प्रहरी प्रशासनबाट अपेक्षित सहयोग नपाएको गुनासो गरे।

पत्रकार सम्मेलनमा उनले अरवाज आलमको अर्की युवतीसँग पनि सम्बन्ध रहेको दाबी गर्दै घरमै ती युवतीसँग भिडियो कलमा कुरा गर्ने र त्यसको विरोध गर्दा खुशबुनमाथि कुटपिट हुने गरेको बताए।

“पाँच महिनाको वैवाहिक जीवनमध्ये मुस्किलले एक–दुई महिना मात्रै सम्बन्ध सामान्य रह्यो होला, बाँकी समय झगडा र तनावमै बित्यो,” अलीले भने, “धेरै पटक पञ्चायती बसेर विवाद मिलाउने प्रयास गरियो। हरेक पटक सुधार गर्ने प्रतिबद्धता जनाइए पनि व्यवहारमा कुनै परिवर्तन आएन।”

पीडित परिवारले घटनाको निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न, दोषीमाथि कानुनी कारबाही गर्न तथा आफूहरूलाई न्याय दिलाउन सम्बन्धित निकायसँग माग गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?