सरकारी कागज किर्ते मुद्दामा राहुल अग्रवालमाथि कारबाहीको माग
वीरगंज, ७ असार
निरन्जन अग्रवालको नागरिकता सम्बन्धी विवादको कानुनी टुंगो लागेसँगै अब राहुल अग्रवालविरुद्ध दर्ता भएको सरकारी कागज किर्ते मुद्दा सक्रिय हुने अपेक्षा गरिएको छ।
निरन्जन अग्रवालको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) मा केरमेट गरी अन्यथा अर्थ लाग्ने बनाएको तथा त्यसको दुरुपयोग गरेको आरोपमा राहुल अग्रवालविरुद्ध जिल्ला प्रहरी कार्यालय, पर्सामा सरकारी कागज किर्ते सम्बन्धी जाहेरी परेको थियो।
निरन्जन अग्रवालका अनुसार तत्कालीन पुनरावेदन अदालत, हेटौंडाले २०७१ सालमै उक्त जाहेरी दर्ता गरी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय, पर्साका नाममा परमादेश जारी गरेको थियो। सो आदेशको प्रतिलिपि २०७१ असोज १२ गते जिल्ला प्रहरी कार्यालयले बुझेको प्रमाणसमेत रहेको उनको दाबी छ।
निरन्जनको भनाइअनुसार राहुल अग्रवालले उनको ड्राइभिङ लाइसेन्समा केरमेट गरी सरकारी निकायबाट जारी भएको मूल कागजातभन्दा फरक अर्थ लाग्ने बनाएका थिए। सोही आधारमा जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएर आफूलाई अनावश्यक रूपमा प्रताडित गरिएको उनले आरोप लगाएका छन्।
लाइसेन्समा भएको केरमेटबारे जिल्ला प्रशासन कार्यालय, पर्साले जिल्ला प्रहरी कार्यालय, परराष्ट्र मन्त्रालय सम्पर्क कार्यालय वीरगंज तथा भारतको महावाणिज्य दूतावासमार्फत समेत अनुसन्धान गराएको थियो। उक्त अनुसन्धानका आधारमा गरिएको प्रशासनिक निर्णयलाई जिल्ला अदालत पर्सा र उच्च अदालत जनकपुरको अस्थायी इजलास, वीरगंजले समेत सदर गरिसकेको बताइएको छ।
निरन्जन अग्रवालले अब अदालतको आदेशअनुसार जिल्ला प्रहरी कार्यालय, पर्साले राहुल अग्रवालविरुद्ध दर्ता भएको सरकारी कागज किर्ते मुद्दामा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका छन्।
अब जिल्ला प्रहरी कार्यालय, पर्साले यस विषयमा कस्तो कानुनी प्रक्रिया अघि बढाउँछ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




