सत्य, निष्पक्ष र विश्वसनीय

नारायणी अस्पतालमा हिमोफिलिया उपचार केन्द्र स्थापना

न्युज डेस्क
२०८३ असार ७, आईतवार १८:११

वीरगञ्ज , ७ असार
हिमोफिलिया सोसाइटी नेपालको आयोजना तथा नारायणी अस्पताल, वीरगञ्जको सहकार्यमा “हिमोफिलिया उपचार केन्द्र विस्तार तथा स्वास्थ्यकर्मीहरूको क्षमता विकास कार्यक्रम” सम्पन्न भएको छ। कार्यक्रममार्फत नारायणी अस्पतालमा औपचारिक रूपमा हिमोफिलिया उपचार केन्द्र (एचटिसी) स्थापना गरिएको छ भने उपचारका लागि आवश्यक औषधि पनि अस्पताललाई हस्तान्तरण गरिएको छ।

मधेस विश्वविद्यालयका उपकुलपति तथा पर्सा हिमोफिलिया सोसाइटीका अध्यक्ष प्रा. डा. दीपक शाक्यले नारायणी अस्पतालका हेमाटोलोजिस्ट डा. निरज कुमार सिंहलाई हिमोफिलिया उपचारका लागि आवश्यक औषधि हस्तान्तरण गर्नुभएको थियो।

कार्यक्रममा स्वास्थ्यकर्मीहरूलाई हिमोफिलिया रोगको पहिचान, उपचार, व्यवस्थापन तथा बिरामीलाई आवश्यक पर्ने ‘क्लोटिङ फ्याक्टर’को प्रयोगसम्बन्धी व्यावहारिक प्रशिक्षण र डेमोसमेत प्रदान गरिएको थियो।

वक्ताहरूले नारायणी अस्पतालमा उपचार केन्द्र स्थापना भएपछि मधेस प्रदेशका पर्सा, बारा, रौतहट, सिरहा लगायत जिल्लाका हिमोफिलिया तथा अन्य रक्तश्रावसम्बन्धी समस्या भएका बिरामीले आफ्नै प्रदेशमा सहज रूपमा विशेषज्ञ उपचार सेवा पाउने विश्वास व्यक्त गरे। यसअघि सामान्य उपचारका लागि समेत काठमाडौं जानुपर्ने बाध्यता रहेको उल्लेख गर्दै अब बिरामी र परिवारले आर्थिक तथा मानसिक सास्तीबाट क्रमशः राहत पाउने अपेक्षा गरिएको छ।

उनीहरूले समयमै रोगको पहिचान, नियमित उपचार र आवश्यक औषधिको उपलब्धता भए हिमोफिलियाका बिरामीले पनि सामान्य, सुरक्षित र उत्पादनशील जीवनयापन गर्न सक्ने बताए।

कार्यक्रममा हेमाटोलोजिस्ट डा. निरज कुमार सिंह, नारायणी अस्पतालका डा. प्रविण कुमार सिंह, हिमोफिलिया सोसाइटी नेपालका उपाध्यक्ष रामकृष्ण बोगटी, सचिव बुद्धिलाल श्रेष्ठ, मधेस प्रदेश अध्यक्ष सुरेन्द्र शाहलगायतको सहभागिता रहेको थियो। कार्यक्रम हिमोफिलिया सोसाइटी नेपालका मधेस प्रदेश उपाध्यक्ष मुन्नालाल साहको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रममा बालबालिकामा चोटपटक लाग्न नदिन विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिँदै चोट लागेमा सुरुमा चिसो सेकाइ (आइस प्याक) गर्ने र त्यसपछि चिकित्सकको सल्लाहअनुसार उपचार गराउन सुझाव दिइएको थियो। साथै हिमोफिलिया भएका बालबालिकाको स्वास्थ्य अवस्थाबारे विद्यालयलाई जानकारी गराउनुपर्नेमा पनि वक्ताहरूले जोड दिए। विद्यालयमा खेल्ने वा अन्य गतिविधिका क्रममा चोट लाग्ने सम्भावना बढी हुने भएकाले रोग लुकाउनु नहुने र नियमित चिकित्सकीय परामर्श तथा उपचार आवश्यक रहेको उनीहरूको भनाइ थियो।

कार्यक्रममा हिमोफिलिया सोसाइटी नेपालका उपाध्यक्ष रामकृष्ण बोगटीले प्रोजेक्टरमार्फत हिमोफिलियाबारे विस्तृत प्रस्तुति दिँदै नेपालमा अझै धेरै हिमोफिलिया बिरामी पहिचान र उपचारको पहुँचभन्दा बाहिर रहेको जानकारी दिनुभयो। उहाँका अनुसार हाल आवश्यक औषधिको करिब ५४ प्रतिशत अभाव रहेको छ।

उहाँले स्थानीय सरकारले हिमोफिलिया बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने कानुनी व्यवस्था गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको उल्लेख गर्नुभयो। हालसम्म नेपालका १८ सरकारी अस्पतालमा हिमोफिलिया उपचार केन्द्र स्थापना भइसकेको र आगामी दिनमा सेवा विस्तारलाई अझ सुदृढ बनाइने जानकारी पनि दिइयो।

के हो हिमोफिलिया ?

हिमोफिलिया एक वंशाणुगत रक्तश्रावसम्बन्धी रोग हो, जसमा शरीरमा रगत जमाउन आवश्यक पर्ने क्लोटिङ फ्याक्टरको कमी हुन्छ। यसका कारण सामान्य चोटपटक लाग्दा पनि लामो समयसम्म रगत बग्ने, जोर्नी सुन्निने, शरीरभित्र आन्तरिक रक्तश्राव हुनेजस्ता समस्या देखिन सक्छन्।

विशेषगरी बालबालिकामा बारम्बार नाकबाट रगत बग्ने, दाँत निकाल्दा अत्यधिक रक्तश्राव हुने, सानो चोटमै शरीर निलो हुने वा जोर्नी दुख्ने लक्षण देखिएमा तत्काल स्वास्थ्य परीक्षण गराउन चिकित्सकहरूले सुझाव दिएका छन्।

वक्ताहरूले सरकार, स्वास्थ्य संस्था र समाजको समन्वित प्रयासबाट हिमोफिलियाको समयमै पहिचान, उपचार र व्यवस्थापन सम्भव हुने उल्लेख गर्दै आवश्यक औषधि, उपचार केन्द्र र जनचेतनाको विस्तार भए हिमोफिलिया भएका व्यक्तिले पनि अन्य नागरिकसरह सहज, सुरक्षित र गुणस्तरीय जीवनयापन गर्न सक्ने विश्वास व्यक्त गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?